भारतीय प्रशासनले २० पैदल यात्रीलाई फर्कायो

0
2564

दार्चुला, भदौ ९ गते ।
भारतको धारचुला प्रशासनले पाङलाबाट २० पैदल यात्रीलाई धारचुला फर्काएको छ । धारचुलाबाट बुँदी जान पाङला पुगेका २० जना स्थानीयलाई पैदलबाटो खराब भएकोले हिडडुल गर्न नसकिने भन्दै फर्काइएको हो ।
बुँदीमा परम्पराअनुसार पूजापाठ गर्न जादैगरेका स्थानीयलाई धारचुला प्रशासनले बुधवार फर्काएको हो । धारचुलाबाट गाडीको मार्ग हुँदै पाङला पुगेका २० जनालाई उत्तराखण्ड प्रहरीले अगाडि जान रोकेको हो । पाङलाभन्दा अगाडि लखनपुर र नजङगाड क्षेत्रमा पैदलमार्ग क्षतिग्रस्त छ । पैदलयात्राका लागि बाटो नभएकाले स्थानीयलाई प्रशासनले हिडडुलमा रोक लगाएको हो ।
पिथौरागढका जिल्ला अधिकारीको आदेशभन्दै उत्तराखण्ड प्रहरीले पैदल यात्रीलाई रोकेको हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । खराव मौसमका कारण धारचुलाबाट हेलिकोप्टर सेवा सञ्चालन नभएपछि बुँदीका स्थानीय पाङलादेखि बुँदीसम्मको १८ किलोमिटर पैदल यात्रा गर्न लागेका थिए ।
हरेक १२ वर्षमा लाग्ने किर्जी मेलाका लागि आफुहरु बुँदी जान लागेको स्थानीय महिला अन्तीदेवीले बताउनुभयो । बुँदी ग्राम प्रधान लक्ष्मी रायपा र गुञ्जीका प्रधान अर्चना गुञ्ज्यालले तत्काल पैदल मार्ग मर्मत गरी सञ्चालनमा ल्याउन माग गरेका छन् ।