भालुको पित्तसम्बन्धि मुद्दा गम्भीर

0
2400

दार्चुला, भदौ १६ गते ।
दार्चुलामा असार २५ गते समातिएको भालुको पित्त सम्बन्धि मुद्दा गम्भीर भएको संरक्षणकर्मीले बताएका छन् । आधा दर्जन भालुका पित्त एकैपटक बरामद हुनुले संरक्षण क्षेत्रमा गम्भीर चुनौती देखिएको दार्चुलामा कार्यरत वनसेवाका कर्मचारी बताउँछन् ।
दार्चुलामा समातिएका पित्त विधिविज्ञान प्रयोगशालाको डिएनए परीक्षणमा हिमाली कालो भालुको पित्त भएको पुष्टि भएको डिभिजन वन प्रमुख सञ्जय तिवारीले बताउनुभयो । साइटिस महासन्धिअनुसार संकटापन्न वन्यजन्तु रहेको कालोभालुको शिकार हुनु गम्भीर विषय भएको उहाँको भनाई छ ।
भारत र चीनसंग सीमा जोडिएको क्षेत्रमा संकटापन्न वन्यजन्तुको चोरीशिकारी र तस्करी भइरहेको पुष्टि गर्ने महत्वपूर्ण घटना भएको छ भालुको पित्त प्रकरण । अपिनाम्पा संरक्षण क्षेत्रबाट कालोभालुको शिकार भएको आशंका गरिएको छ । प्रयोगशालाबाट कालोभालुको पित्त भएको पुष्टि भएको र भालुका पित्त धेरै पुराना नभएकाले दार्चुलामै शिकार भएको हुनसक्ने एक वनकर्मीको आशंका छ ।
डिभिजन वन कार्यालयका प्रमुख सञ्जय तिवारी भने अहिले नै कालोभालुको शिकार दार्चुलामै भएको भन्न नसकिने बताउँछन् । ‘हामी अनुसन्धानको क्रममा छौ, कुन ठाँउमा शिकार गरिएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन’ उहाँले भन्नुभयो ।
गत जेठ, असार महिनामा व्यास गाँउपालिकाको वडा नम्बर १ अन्तर्गत बुँदी, कुन्तीसाउ, अपि वनक्षेत्रमा भालुको आतंक थियो । यार्सागुम्बा संकलक र उक्त क्षेत्रमा आवतजावत गर्ने धेरैले भालु देखिएको बताएका थिए । व्यासको छाङरुका एक वासिन्दाकाले खच्चर र बाख्रा समेत भालुले खाएको थियो । पछिल्लो समय उक्त क्षेत्रमा भालु नदेखिएकोले त्यही क्षेत्रमा कालोभालुको शिकार भएको आशंका गरिएको छ ।
स्रोतका अनुसार बरामद गरिएका भालुका पित्त भारतीय भूमि भएर नेपाल ल्याइएको अनुसन्धानको क्रममा खुलेको छ । दार्चुला प्रहरीले भालुका पित्त बरामद भएलगत्तै भारतीय प्रहरीले समेत यसबारे चासो राखेको स्रोतले बतायो । ‘भारतीय प्रहरीले भालुका पित्तको ओसारपोसारबारे चासो राख्दै नेपाली पक्षबाट जानकारी लिएको छ’ स्रोतले भन्यो ।
साइटिस महासन्धिअनुसारको गम्भीर घटना भएकाले नेपाल प्रहरीको सिआइबी र डब्लुडब्लुएफले समेत यस घटनाको गोप्य रुपमा अनुसन्धान गरिरहेको स्रोतको भनाई छ । त्रिदेशीय सीमाक्षेत्रमा विगतदेखि नै वन्यजन्तुको ओखेटोपहार चोरीशिकारी र तस्करी हुने गरेको छ । विगतमा दार्चुलामा गैडाको खाग, सालक, बाघको छाला, हात्तीको दात जस्ता ओखेटोपहारको क्षेत्रमा तस्करी हुने गरेको घटना सार्वजनिक भइसकेको छ ।