महाकालीको मोटरपुल १५ करोडमा बनाउन ठेकेदार तयार भएनन्

2624

दार्चुला, मंसिर १९ गते ।
नेपाल र भारत जोड्ने महाकाली नदीको मोटरपुल लागत इष्टिमेट अनुसार बनाउन भारतीय ठेकेदार तयार देखिएका छैनन् । महाकाली नगरपालिकाको वडा नम्बर ८ सुरकाडा र भारतको धारचुला तहसिलअन्तर्गतको छारछुम जोड्ने मोटरपुल निर्माणका लागि टेण्डर आव्हान गरिएकोमा ठेकेदारले कबोल नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय लगानीमा निर्माण गरिने मोटरपुलका लागि १५ करोड ५६ लाख भारतीय रुपैयाँको लागत इष्टिमेट तयार गरिएको छ । लोक निर्माण विभागका इन्जिनियरहरुले इष्टिमेट तयार गर्दा त्रुटी गरेकाले ठेक्का कबोल हुन नसकेको सञ्चारमाध्यमले जनाएका छन् ।
लोक निर्माण विभागले आव्हान गरेको पुल निर्माणको टेण्डरमा निर्माण कम्पनी तयार नभएको भारतीय पत्रिका अमर उजालाले जनाएको छ । १ सय १० मिटर लामो मोटरपुलका लागि प्राविधिक प्रस्तावअनुसार पुल निर्माण गर्न कम्पनी तयार नभएका हुन् ।
लोक निर्माण विभागले पुल निर्माणका लागि २० करोड भारतीय रुपैयाँ बजेट दिन केन्द्र सरकारसंग माग गरेको छ । यसअघि विनियोजित १५ करोड ५६ लाखको बजेटमा ठेकेदार कम्पनी तयार नभएपछि पुल निर्माणमा बजेट बढाउन माग भएको हो । केन्द्र सरकारबाट बजेट वृद्धिको स्वीकृति आएपछि पुनः ठेक्का प्रक्रिया अघि बढाइने भएको छ ।
पुल निर्माणको संरचनाअनुसार बजेट न्युन भएको ठेकेदार कम्पनीहरुले बताएका छन् । पुलको प्राविधिक इष्टिमेट तयार गर्दा केही त्रुटी भएकोले थप बजेट माग गर्नुपरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । दार्चुला र धारचुलाबाट करिब १५ किलोमिटरको दूरीमा मोटरपुल प्रस्तावित गरिएको छ । दुई देशका अधिकारीहरुले पुल निर्माणस्थलको टुंगो समेत लगाइसकेका छन् ।
लोक निर्माण विभाग अस्कोटका इन्जिनियर दीपक गुप्ताले पुल निर्माणका लागि २० करोड लागतको संसोधित प्रस्ताव केन्द्रमा पठाइएको बताउनुभयो । केन्द्रबाट पुल निर्माणस्थलको पुनः स्थलगत अध्ययन एवं निरीक्षण गर्न समेत भनिएको उहाँले बताउनुभयो । केन्द्रस्तरकै प्राविधिक टोलीले पुल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !