महाकालीबाट अत्यधिक वालुवा दोहन

0
2056

दार्चुला, माघ २६ गते ।
दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीबाट अत्यधिक वालुवा संकलन गरिएको छ । नदी किनारमा तटबन्धको संरचना निर्माणदेखि नै ठेकेदार र स्थानीयले दैनिक रुपमा ठूलो परिमाणमा वालुवा निकाल्दै आएका छन् ।
महाकालीको कटान जोखिम कम गर्न बनाइदै गरेको तटबन्धको संरचनालाई नै जोखिम हुने गरी निर्वाध रुपमा वालुवा निकाल्ने काम भइरहेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले बताउनुभयो । ‘गल्फैदेखि बंगाबगर लास्कुसम्मको सबैक्षेत्रमा दैनिक रुपमा नदी किनारको वालुवा निकालिदैछ तर यसबारे कुनै पनि निकायले ध्यान दिएका छैनन्’ उहाँले भन्नुभयो ।
महाकाली किनारबाट निकालिएको वालुवा सदरमुकामस्थित तटबन्धको संरचना निर्माणमा मात्रै प्रयोग गरिएको छैन । खलंगाका सबै भवन निर्माण र ग्रामिण भेगमा समेत महाकालीको वालुवा प्रयोग हुदैआएको छ । ‘प्राकृतिक स्रोतलाई व्यवस्थित रुपमा प्रयोग गर्नुपर्नेमा कुनै योजना र व्यवस्थापनविना निर्वाध महाकालीको वालुवा दोहन भइरहेको छ’ पत्रकार महासंघ अध्यक्ष धामीले भन्नुभयो ।
खलंगाको नमस्कार, गल्फै, बीरेन्द्रवन, बंगाबगर र लास्कुगाड क्षेत्रबाट महाकालीको वालुवा संकलन र विक्रीवितरण हुँदैआएको छ । सयौं स्थानीयले दैनिक रुपमा महाकाली नदी किनारबाट वालुवा निकाल्दैआएको पत्रकार भोजराज जोशीले बताउनुभयो । वालुवा संकलन गर्नेमा महिलाको संख्या बढी छ । ‘धेरैको जीविकोपार्जनको आधार नै वालुवा संकलन भएको छ, महाकालीको वालुवा धारी, हिकिला, पिपलचौरीसम्मको क्षेत्रमा विक्रीवितरण हुँदैआएको छ’ पत्रकार जोशीले भन्नुभयो ।
वीरेन्द्रवन र बंगाबगर क्षेत्रबाट अत्यधिक वालुवा दोहन भइरहेको छ । ‘नदी किनारको वालुवा र ढुंगाको दोहनले नदीको वहाव नेपालतर्फ फर्किने मात्रै होइन, तटबन्धको संरचनामै जोखिममा पर्ने निश्चित छ’ उपभोक्ता हित संरक्षण मञ्च दार्चुलाका अध्यक्षसमेत रहनुभएका पत्रकार महासंघ अध्यक्ष शंकर सिंह धामीले भन्नुभयो ।
नदी किनार क्षेत्रको तटबन्ध निर्माणमा संलग्न निर्माण कम्पनीले मेसिन लगाएर ठूलो परिमाणमा वालुवा र ढुंगा निकाल्दैआएको छ । जेसिवी र स्काइभेटर प्रयोग गरी टिप्परमार्फत नदी किनारको ढुंगा र वालुवा निर्माण कम्पनीले संकलन गरिरहेको पत्रकार धामीको भनाई छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले महाकाली नदी नियन्त्रण आयोजना र सम्बन्धित पक्षहरुलाई यसबारे ध्यानाकर्षण गराइने बताउनुभयो । ‘नदी किनारको जोखिम र संवेदनशीलताबारे सबै सचेत हुनुपर्छ, यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउछौ’ प्रजिअ पौडेलले भन्नुभयो ।
महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख रणवहादुर बमले तटबन्ध निर्माणमा संलग्न कम्पनीले नदी किनारकै ढुंगा र वालुवा प्रयोग गर्नुपर्ने भए पनि व्यवस्थित रुपमा मात्रै ढुंगा र वालुवाको संकलन गर्नुपर्ने बताउनुभयो । ‘नदी किनारको क्षेत्रमा बनेको संरचनालाई खतरा हुने गरी ढुंगा र वालुवा संकलन गर्न मिल्दैन, जोखिम बढाउने गरी निर्माण व्यवसायीले ढुंगा, वालुवा संकलन गरेको भए कारवाही गर्छौ’ आयोजना प्रमुख बमले भन्नुभयो ।