महाकालीमा मोटरपुल निर्माण सुरु भएन

0
2452

भारततर्फ ठेक्का प्रक्रिया र नेपालतर्फबाट निर्माणस्थलको स्वीकृतिमा ढिलाई

दार्चुला, चैत्र ८ गते ।
नेपाल र भारत दुई देश जोड्न दार्चुलास्थित महाकाली नदीमा प्रस्तावित मोटरपुल निर्माणमा ढिलाइ भएको छ । ५ महिनाअघि नै निर्माण सुरु हुने बताइएको मोटरपुल निर्माणको ठोस प्रक्रिया सुरु भएको छैन ।
यसअघि नेपाल र भारतको अधिकारीहरुले साउन अन्तिममा मोटरपुल निर्माणस्थलको निरीक्षण भ्रमण गरेका थिए । अधिकारीहरुले डेढ महिनापछि अर्थात २०७५ असोजमै मोटरपुल निर्माण सुरु हुने बताएकोमा हालसम्म पुल निर्माण सुरु भएको छैन ।
दुई देशका सरकारबीच भएको सम्झौताअनुसार भारत सरकारले मोटरपुल बनाउने तयारी थालेको हो ।
महाकाली नगरपालिकाको वडा नम्बर ८ धापको सुरकाडा र भारततर्फको बलुवाकोट नजिकको तल्लो छारछुम जोड्नेगरी मोटरपुल बन्ने भएको छ । दुई देशका प्राविधिकसहितका अधिकारीहरुले पुल निर्माणस्थलको टुंगो लगाइसकेका छन् ।
महाकाली नदीमा पुल निर्माणका लागि दुबै देशले सैद्धान्तिक सहमति गरिसकेका छन् । भारतीय लगानी र प्राविधिक सुपरीवेक्षणमा मोटरपुल बन्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका इन्जिनियर शंकर खनालले जानकारी दिनुभयो ।
यसअघि दुई देशको प्राविधिक टोलीले मोटरपुल बन्नेस्थानको सम्भाव्यता अध्ययन र स्थलगत भ्रमण गरिसकेका छन् । भारतको लोक निर्माण विभागले २०७५ साउनमै मोटरपुलको डिजाइन, इस्टिमेट तयार गरी ठेक्का प्रक्रिया सुरु गरेको थियो । तर निर्माण कम्पनीहरुले मोटरपुलको लागत अनुमानभन्दा बढी रकम कबोल गरेपछि दोस्रोपटक ठेक्का प्रक्रिया सुरु भएको जानकारी अनौपचारिक रुपमा प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टले बताउनुभयो ।
मोटरपुल निर्माणका लागि बनाइएको डिजाइन इष्टिमेटमा केही प्राविधिक कमजोरी पाइएकोले पुल निर्माणमा बजेट थप गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोटरपुल निर्माणको ठेक्का प्रक्रिया पूरा हुन करिब दुई महिना लाग्ने जानकारी भारतीय अधिकारीले नेपाली पक्षलाई गराएका छन् । चैत्र ४ गते लोक निर्माण विभाग अस्कोटका कार्यकारी इन्जिनियर दीपक गुप्ता लगायतको टोलीले दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टसंग यसबारे छलफल गरेका छन् । अनौपचारिक भेटघाटमा मोटरपुल निर्माणको तयारी अवस्थाबारे जानकारी आदानप्रदान भएको प्रजिअ विष्टले बताउनुभयो ।
नेपाली पक्षसंगको भेटमा भारतीय अधिकारीहरुले मोटरपुल निर्माणस्थलको जमिन प्रयोगको स्वीकृति छिटो प्रदान गर्न आग्रह गरेका छन् । भारतीय पक्षले गत साउन महिनामै यस्तो स्वीकृति माग गरेकोमा नेपाल सरकारबाट यसबारे स्वीकृति प्राप्त भएको छैन । ‘जिल्लास्तरबाट सबै प्रक्रिया पूरा गरी डिभिजन सडक कार्यालय पाटन बैतडीबाट प्रक्रिया अगाडि बढेको’ प्रजिअ शंकरवहादुर विष्टको भनाई छ ।
‘डिभिजन सडक कार्यालयबाट सडक विभागमार्फत भौतिक पूर्वाधार मन्त्रालय र परराष्ट्र मन्त्रालयसम्म कागजी कारवाही पुर्याउनुपर्ने’ डिभिजन सडक कार्यालय पाटनका इन्जिनियर शंकर खनालले बताउनुभयो । ‘सडक विभागमार्फत यसबारे निर्णय गराउने प्रयासमा छौ’ उहाँले भन्नुभयो । ‘भौतिक पूर्वाधार र परराष्ट्र मन्त्रालयसम्म पुग्नुपर्ने भएकाले मोटरपुल निर्माणस्थलको स्वीकृतिका लागि केही समय अझै लाग्ने’ उहाँको भनाई छ ।
सडक डिभिजनले मोटरपुल निर्माणस्थलसम्म सडकको पहँुचमार्ग बनाइने जनाएको छ । हालको महाकाली लोकमार्गदेखि मोटरपुलसम्मको सडक बनाइने इन्जिनियर शंकर खनालले बताउनुभयो । यसका लागि नापी, मालपोत लगायत सम्बन्धित कार्यालयसंग समन्वय गरिने उहाँले जानकारी दिनुभयो ।
पिथौरागढ जिल्लाको अस्कोटमा रहेको लोक निर्माण विभागको कार्यालयले मोटरपुल निर्माणको व्यवस्थापन गर्नेछ । गत अगस्ट महिनाको पुल निर्माणको ठेक्का प्रक्रिया रद्द भएपछि दोस्रो पटक टेण्डर खोलिएको विभागका कार्यकारी इन्जिनियर दीपक गुप्ताले नेपाली पक्षलाई जानकारी दिएका छन् ।
सेप्टेम्बर २०१८ मा ठेक्का सम्झौताका सबै प्रक्रिया पूरा गरी अक्कोवरको सुरुदेखि मोटरपुल निर्माणको कार्य सुरु गर्ने लोक निर्माण विभागको तयारी थियो । त्यतिबेलासम्म नेपाली पक्षबाट पुल निर्माणस्थलको स्वीकृति प्राप्त हुने अपेक्षा गरिएकोमा निर्माणस्थलको स्वीकृतिमा पनि ढिलाइ भएको छ । मोटरपुल निर्माणमा नेपाली पक्षबाट स्वीकृतिपत्र अर्थात ‘नो अब्जेक्सन लेटर’ को आवश्यकता पर्दछ । निर्माण सुरु भएको १८ महिनाभित्र मोटरपुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग मोटरपुल निर्माणलाई गति दिनेबारे छलफल र सहमति भएको थियो । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा पनि महाकालीमा मोटरपुल बनाउनेबारे पहल गरिएको थियो ।

यस्तो बन्नेछ महाकालीमा मोटरपुल

पहाडी क्षेत्रमा महाकाली नदीमाथि नेपाल र भारत जोड्ने पहिलो मोटरपुल पुल बन्न लागेको छ । अंग्रेजहरुको शासनकालमा तराई क्षेत्रको बनबासामा महाकालीमा पुल बनाइएको थियो । केही दशकअघि टनकपुर र ब्रह्मदेव जोड्ने अर्को मोटरपुल पनि निर्माण गरिएको थियो । तर पहाडी क्षेत्रमा महाकाली नदीमा मोटरपुल बनाउन थालेको यो पहिलो प्रयास हो ।
पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत तल्लो छारछुम र नेपालको महाकाली नगरपालिकाको वडा नम्बर ८ सुरकाडा क्षेत्रमा पुल बन्न लागेको हो । दुई देश जोड्ने मोटरपुलको लम्बाई १ सय १० मिटर रहेको छ । चौडाई भने ९ मिटर हुनेछ । यसमध्ये पुलको दाया र वाया एक÷एक मिटर पैदल यात्रीका लागि छुट्याइने छ । बाँकी ७ मिटरमा गाडी गुडनेछन् ।
भारतीय लगानीमा निर्माण हुने यो मोटरपुल स्टिल ट्रस ब्रिज हो । महाकाली नदी किनारामा दुबैतर्फ फाउन्डेशन बनाइनेछ । यसलाई प्राविधिक भाषामा एबुटमेन्ट भनिन्छ । मोटरपुलको बीचमा भने कुनै पिलर हुने छैन । पुलको बीचको पिलरलाई प्राविधिक भाषामा पायर भनिन्छ । महाकालीको यो मोटरपुलमा पायर नराखिने सडक डिभिजन पाटनका इन्जिनियर शंकर खनालले बताउनुभयो ।