महाकालीले तम्बाकुको काठेपुल बगायो ।

0
2342

व्यास गाँउपालिकाको वडा नम्बर राप्लाको तम्बाकुमा महाकाली नदीमा राखिएको काठेपुल जेठ ९ गते राती बगाएको छ । महाकाली नदीमा पानीको सतह बढेपछि नेपाल र भारत जोड्ने काठेपुल बगाएको हो ।
भारतको लखनपुर र नेपालको तम्बाकु क्षेत्र जोड्ने अस्थायी काठेपुल दुई देशको सहमतिमा दुई महिनाअघि राखिएको थियो । बुधवार राती नदीमा पानीको सतह बढेपछि पुल बगाएको जानकारी दुम्लिङ प्रहरीले दिएको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताउनुभयो ।
व्यास क्षेत्रका वासिन्दाका साथै तिब्बतको ताक्लाकोट बजारमा व्यापार गर्न जाने भारतीय र नेपाली नागरिकले काठेपुलबाट आवतजावत गरिरहेका थिए । यसका साथै उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न जानेलाई पनि काठेपुलबाट सुविधा पुगेको थियो । भारततर्फको सडक निर्माणमा संलग्न कामदार र भरियाले समेत तम्बाकुको काठेपुल प्रयोग गर्दैआएका थिए ।
तम्बाकुको काठेपुल बगाएपछि भारतको नजंङ र नेपालको थिई भीरमा रहेको अर्को काठेपुलबाट आवतजावत भइरहेको छ । नेपालको भन्दा भारततर्फको पैदलबाटो जोखिमपूर्ण रहेको छ । भारतीय क्षेत्रमा सडक निर्माणका कारण पैदल बाटो राम्रो छैन ।
नेपाल र भारतबीच तम्बाकु, थिई भीर र दोपाखेमा अस्थायी काठेपुल राख्ने सहमति भएको थियो । यसका साथै दुम्लिङका वासिन्दाको मागअनुसार नेपालको तल्लो दुम्लिङ र भारतको घटियाबगड जोड्ने काठेपुल पनि राखिएको छ । महाकालीमा राखिएका जम्मा चारवटा काठेपुलहरुमध्ये दोपाखे र तम्बाकुको पुल बगिसकेका छन् । थिई भीर र तल्लो दुम्लिङमा भने काठेपुल प्रयोगमा रहेका छन् ।
महाकाली नदीमा पानीको सतह बढिरहेकाले थिई भीरको काठेपुल पनि केही समयमै नदीले बगाउने खतरा रहेको दुम्लिङ प्रहरी चौकीका असई वीरवहादुर चन्दले बताउनुभयो । राप्लाको तल्लो दुम्लिङमा राखिएको काठेपुल भने पानीको सतहभन्दा करिब ३ मिटर उचाई रहेकाले केही सुरक्षित छ ।
काठेपुल बगाएपछि अहिले नदी किनार क्षेत्रमा रहेका ठूल्ठूला ढुंगामा काठ राखेर जोखिमपूर्ण आवतजावत भइरहेको स्थानीयले बताएका छन् । भारतीय क्षेत्रमा सडक निर्माणका लागि महाकाली नदी किनारमा ठूल्ठूला चट्टान र ढुंगा रहेका छन् । तम्बाकु, घाटिबगड, दोपाखे र बुँदीमा अहिले महाकालीमा काठका वाला राखेर आवतजावत भइरहेको छ । काठका वालाबाट आवतजावत गर्नु जोखिमपूर्ण भए पनि यसको विकल्प नभएको घाटिबगडका स्थानीय होटल व्यवसायी जहेन्द्रसिह भण्डारी बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here