महाकाली नदी नियन्त्रण आयोजना प्रमुखको सरुवा

2693

दार्चुला, भदौ ४ गते ।
महाकाली नदी नियन्त्रण आयोजना प्रमुख सुशील देवकोटाको सरुवा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको सचिवस्तरीय निर्णयले साउन २८ गते आयोजना प्रमुखको सरुवा गरेको हो ।
एक्काइस महिनादेखि आयोजना प्रमुख रहेका देवकोटाको विभागिय मन्त्रालयमा सरुवा गरिएको छ । देवकोटाको ठाँउमा विभागबाट प्राविधिक उपसचिव मित्र बराल आउने भएका छन् । बराल यसअघि २०७२ चैत्रदेखि २०७३ कार्तिकसम्म महाकाली नदी नियन्त्रण आयोजनामा प्रमुख रहनुभएको थियो ।
आयोजना प्रमुख सरुवाबारे अनौपचारिक जानकारी आएको तर औपचारिक पत्र प्राप्त नभएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर मुकेश पाठकले बताउनुभयो ।
२०७० सालको महाकाली वाढीपछि नदी किनारको क्षेत्रमा तटबन्धको संरचना निर्माण गर्न आयोजना सुरु गरिएको थियो । आर्थिक वर्ष २०७०÷७१ देखि थालिएको नदी नियन्त्रण आयोजना पाँच वर्षसम्म सम्पन्न गरिने लक्ष्य राखिएकोमा पछिल्लो समय दुई वर्षको अवधि थपिएको छ ।
आयोजनाको सुरुवातीमा महेन्द्रप्रसाद बडू आयोजना प्रमुख रहनुभएको थियो । बडूले २०७१ असारदेखि २०७२ चैत्रसम्म महाकाली नदी नियन्त्रण आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस् !