महिला हिंसाका घटना न्युनिकरणका लागि सक्रियता बढाउन आग्रह

0
2494

दार्चुला, भदौ १६ गते ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले महिला हिंसाका घटना न्युनिकरणका लागि महिलाहरु कै सक्रियता बढाउन आग्रह गर्नुभएको छ । देशभरी बढिरहेका महिला हिंसाका घटनाप्रति प्रजिअमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन शुक्रवार प्रशासन पुगेका महिला नेतृहरुलाई यस्तो आग्रह गरिएको हो । अन्तर पार्टी महिला सञ्जालले ध्यानाकर्षण पत्र बुझाएको हो ।
दार्चुलामा महिला हिंसा न्युनिकरणका लागि महिलाहरुको सक्रियता न्युन देखिएको प्रजिअ आचार्यको भनाई छ । ‘महिलाहरु आफै सक्रिय र जागरुक हुनुपर्छ’ प्रजिअ खुमकान्त आचार्यले भन्नुभयो, ‘महिलाहरुको संख्या र सक्रियता बढाउन सकेमा हिंसाका घटनामा कमी आउछ ।’
पछिल्लो समय स्थानीय तहमा महिला जनप्रतिनिधिको संख्या धेरै रहेकाले उनीहरुले यसमा अगुवाई गर्नुपर्ने प्रजिअ आचार्यको सुझाव छ । ‘सबै ठाँउमा महिला जनप्रतिनिधिहरुको क्रियासिलता हुन सकेमा यसको सकारात्मक प्रभाव पर्छ’ उहाँले भन्नुभयो ।
स्थानीय प्रशासन महिला हिंसाका घटनाप्रति संवेदनशील र गम्भीर भएको बताउदै प्रजिअ आचार्यले अन्य सरोकारवालाभन्दा अग्रभागमा प्रशासनको क्रियासिलता हुने बताउनुभयो । ‘हामी हिंसा न्युनिकरण र नियन्त्रणका लागि अरुभन्दा अगाडि नै हुन्छौ, नभए संगसंगै त अवश्य हुन्छौ तर अरु सरोकारवालाभन्दा पछि हुँदैनौ’ प्रशासनको क्रियासिलताबारे प्रजिअ आचार्यको भनाई छ ।