मालपोत र नापी कार्यालयलाई विभागको १० बुँदे निर्देशन

0
2500

दार्चुला, भदौ १० गते ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले जिल्लास्थित मालपोत र नापी कार्यालयलाई तत्काल सुधारका लागि १० बुँदे निर्देशन दिएको छ । देशभरीका मालपोत र नापी कार्यालयहरुमा एकसाथ सर्कुलर गरी सुधारको पहल गर्न भनिएको हो ।
साउन २९ गतेको नेपाल सरकार मन्त्रीस्तरबाट भएको निर्णय प्रभावकारी कार्यान्वयनका लागि जिल्लास्तरमा सर्कुलर गरिएको छ । कार्यालयहरुको सेवा प्रवाहलाई व्यवस्थित गरी सुशासनलाई सुशासन कायम गर्न विभागिय मन्त्रीले निर्णय गरेका छन् ।
मन्त्रिस्तरीय निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १ गते विभागलाई पत्राचार गरेकोमा विभागबाट भदौ ३ गते देशभर सर्कुलर गरिएको छ । विभागबाट दिइएका निर्देशनहरुको कार्यान्वयन अवस्थाबारे हरेक १५ दिनमा रिपोर्टिङ गर्न पनि कार्यालय प्रमुखहरुलाई भनिएको छ ।
मालपोत र नापी कार्यालयमा सेवाग्राही बाहेक अन्य अनाधिकृत व्यक्तिको प्रवेशमा रोक लगाउन भनिएको छ । मालपोत कार्यालयमा लेखापढी व्यवसायीले कार्यालय सञ्चालन गरेको भए १५ दिनभित्र बन्द गराउन पनि निर्देशन दिइएको छ ।
लेखापढी कानुन व्यवसायीले कार्यालयको प्रस्थान विन्दुसम्म परिचयपत्रसहित प्रवेशको व्यवस्था गर्न र लेखापढी व्यवसायीका अन्य सहयोगीलाई कार्यालय प्रवेश नगराउन भनिएको छ । ‘मालपोत कार्यालयमा लेखापढी गर्ने व्यक्तिको नाम, ठेगाना, इजाजतपत्र नम्बर, पान नम्बर उल्लेख गरी सम्बन्धित कार्यालयमा दर्ता गराउन’ पनि निर्देशन दिइएको छ ।
दार्चुलामा क्रियासिल लेखापढी व्यवसायीको अभिलेखीकरण भइरहेको मालपोत कार्यालयका सुचना अधिकारी नरवहादुर ठगुन्नाले बताउनुभयो । कार्यालयमा लेखापढी व्यवसायीको अनावश्यक आवतजावत भने नहुने गरेको उहाँको भनाई छ । तराई र सेवाग्राहीको बढी भीड हुने जिल्लाका लागि विभागका लागि यस्तो निर्देशन उपयोगी भएको कर्मचारीहरुको भनाई छ ।
मालपोत कार्यालयमा पेश हुने लिखत तयार गरेवाफत लेखापढी व्यवसायीले लिने शुल्क जिल्ला न्याय क्षेत्र समन्वय समितिबाट निर्धारण गराउन पनि निर्देशन दिइएको छ । सेवाग्राहीका लागि टोकन प्रणालीको व्यवस्था गर्न, कार्यालयका कामकारवाही र सेवा प्रक्रिया बारे सञ्चारमाध्यमबाट जानकारी गराउन पनि विभागले जिल्लास्थित कार्यालयहरुलाई निर्देशन दिएको छ । मालपोत कार्यालय सञ्चालन हुने अवधिभर बैंकिङ कारोबार हुने व्यवस्था मिलाउन पनि भनिएको छ ।
विभागबाट प्राप्त निर्देशनहरु कार्यान्वयन भइरहेको मालपोत कार्यालयका प्रमुख अमरसिह कुवरले बताउनुभयो । ‘केही बुँदाहरु हामीले कार्यान्वयनमा लगिसकेका छौ, केही बुँदा भने तराई र बढी सेवाग्राही हुने कार्यालयका लागि उपयोगी छन्’ कार्यालय प्रमुख कुवरले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here