मालिकार्जुन वस दुर्घटना ः अनिलकी श्रीमतीको निधन, दुईजना काठमाण्डौ रिफर

0
2581

दार्चुला, मंसिर ८ गते ।
शुक्रवार विहान मालिकार्जुन गाँउपालिकाको तेर्छालेकमा भएको वस दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका अनिल पालकी श्रीमतीको समेत उपचारका क्रममा निधन भएको छ । गम्भीर घाइते ३५ वर्षिय मञ्जु पालको उपचारकै क्रममा शुक्रवार बेलुकी नेपालगञ्जमा निधन भएको दार्चुला प्रहरीले जनाएको छ ।
मञ्जुसहित गम्भीर घाइते ७ जनालाई गोकुलेश्वरदेखि नेपाली सेनाको हेलिकोप्टरमार्फत शुक्रवार दिउसो नेपालगञ्ज पुर्याइएको थियो । मञ्जुको शवलाई नेपालगञ्जबाट फिर्ता ल्याइदैगरेको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो ।
घटनास्थलमै मृत्यु भएका अनिलको शवलाई भने शुक्रवार नै आफन्तजनलाई बुझाइएको छ । भारतको पिथौरागढ जिल्लाअन्तर्गत अस्कोटका वासिन्दा अनिल दम्पतीको वस दुर्घटनामा ज्यान गएको छ ।
गम्भीर घाइते भइ उपचारका लागि नेपालगञ्ज पुर्याइएका मालिकार्जुन गाँउपालिका वडा नम्बर ८ का धिरेन्द्रसिह धामीलाई शनिवार विहान थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अर्का घाइते लेकम गाँउपालिका वडा नम्बर ४ का दौलतसिह कुवरलाई नेपालगञ्जबाट काठमाण्डौ रिफर गरिएको दार्चुला प्रहरीले जनाएको छ । कुवरलाई आइतवार विहान काठमाण्डौ लगिने भएको छ ।
लेकम गाँउपालिकाको केन्द्र खरकडामा होटल व्यवसाय सञ्चालन गर्दैआएका कुवर दम्पती बस दुर्घटनामा परी गम्भीर घाइते बनेका छन् । दुबैजनालाई सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्याइएको थियो ।