मिडिया विकास समाजको आम्दानी र खर्च हाराहारी

2418

दार्चुला, मंसिर १५ गते ।
दार्चुला जिल्लामा क्रियासिल नागरिक संस्था मिडिया विकास समाज नेपाल दार्चुलाको गत आर्थिक वर्षको आम्दानी र खर्च हाराहारी रहेको छ । शनिवार आयोजित वार्षिक साधारणसभा तथा रेडियो नयाँ नेपाल एफएमको वार्षिकोत्सव कार्यक्रममा आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा कुल आम्दानी ३५ लाख ६० हजार ९ सय ९१ रुपैयाँ रहेको महासचिव दिपेन्द्रसिह धामीले बताउनुभयो । गतवर्षको खर्च रकम ३५ लाख २८ हजार ४ सय ९६ रुपैयाँ रहेको छ । संस्था र रेडियो दुबैको आम्दानी र खर्चको विवरण समावेश गरी वार्षिक लेखापरीक्षण गरिएको संस्थाका महासचिव धामीको भनाई छ ।
रेडियो नयाँ नेपाल एफएमको मात्रै आम्दानी २८ लाख ७२ हजार ३ सय ९३ रुपैयाँ र खर्च २८ लाख १३ हजार ६ सय ८२ रुपैयाँ रहेको स्टेशन म्यानेजर गगनसिह विष्टले बताउनुभयो ।
स्थिर सम्पत्ति साढे ४५ लाख
मिडिया विकास समाज नेपाल र संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो नयाँ नेपाल एफएमको स्थिर सम्पत्ति ४५ लाख ६३ हजार ९० रुपैयाँ रहेको छ । शनिवार साधारणसभामा प्रस्तुत गरिएको विवरण अनुसार फर्निचर र फर्निसिङ ४ लाख ५१ हजारको, एफएम रेडियो उपकरण २५ लाख २६ हजार ४ सय ४१ रुपैयाँको र कम्प्युटर एवं एसोसिरिज ३ लाख ५२ हजार ७ सय रुपैयाँका छन् । अन्य सञ्चार उपकरण ३ लाख ७६ हजार १ सय ४५ रुपैयाँको, जग्गा जमिन २ लाख ५० हजार बराबरको र ६ लाख ६ हजार ६ सय ४ रुपैयाँ मूल्यका दुइटा भवन संस्थामा रहेको छन् ।
राजश्वमा साढे तीन लाखको योगदान
मिडिया विकास समाज नेपाल दार्चुलाले गत आर्थिक वर्षमा झडै साढे तीन लाख रुपैयाँ राजश्वमा योगदान पुर्याएको छ । मूल्य अभिवृद्धि कर, घरवहाल कर, सामाजिक सुरक्षा कर, आयकर गरी ३ लाख ४४ हजार ८ सय ८३ रुपैयाँ गतवर्षमा राजश्व दाखिला गरिएको संस्थाले जनाएको छ ।
मूल्य अभिवृद्धि कर ३ लाख २० हजार ४ सय ५ रुपैयाँ, घरवहाल कर १२ हजार रुपैयाँ, सामाजिक सुरक्षा कर ११ हजार ७ सय २८ रुपैयाँ र आयकर ७ सय ५० रुपैयाँ दाखिला भएको कार्यकारी निर्देशक शंकरसिह धामीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा संस्थाले ३ लाख ६४ हजार १ सय ८५ रुपैयाँ राजश्वमा योगदान गरेको थियो ।
एक लाखको अक्षय कोष तयार
मिडिया विकास समाज नेपालले स्थापना गरेको कालापानी श्रृजनशील पत्रकारिता पुरस्कारका लागि एक लाख रुपैयाँको अक्षय कोष तयार गरेको छ । विगत आठ वर्षदेखि वार्षिक रुपमा प्रदान गरिदैआएको पुरस्कारका लागि अक्षय कोष बनाइएको संस्थाका अध्यक्ष पदमसिह बडालले बताउनुभयो ।
अक्षय कोषको व्याज रकमबाट पुरस्कार राशी खर्च गर्ने योजनाका साथ अक्षय कोषको रकम जम्मा गरिएको उहाँले बताउनुभयो । जिल्लामा क्रियासिल उत्कृष्ट र सिर्जनशील पत्रकारलाई हरेक वर्ष पुरस्कृत गरिदैआएको छ । पुरस्कारको राशी ५ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
आठजनालाई कालापानी पुरस्कार
कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार हालसम्म जिल्लामा क्रियासिल आठजना पत्रकारले पाएका छन् । मिडिया विकास समाज नेपालले स्थापना गरेको पुरस्कारबाट यो वर्ष सामुदायिक रेडियो नयाँ नेपाल एफएममा कार्यरत पत्रकार सन्तोष कोट्टारी पुरस्कृत भएका छन् ।
कोट्टारी अनलाइनखवर डटकम र सौर्य दैनिकमा आवद्ध छन् । हरेक वर्ष प्रदान गरिने कालापानी सिर्जनशील पत्रकारिता पुरस्कारको राशी ५ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र रहेको छ । २०६८ सालदेखि स्थापना गरिएको पुरस्कारअन्तर्गत पहिलो वर्ष कालापानी पोष्ट साप्ताहिक पत्रिकामा पत्रकार लोकेन्द्रवहादुर बम पुरस्कार हुनुभएको थियो ।
२०६९ सालमा दार्चुला सन्देश दैनिकका पत्रकार वीरेन्द्रसिह महरा, २०७० सालमा नयाँ नेपाल एफएमका पत्रकार कृष्णसिह धामी र २०७१ सालमा कालापानी एफएमका पत्रकार भागरथी भट्ट पुरस्कृत हुनुभएको थियो । २०७२ सालमा कान्तिपुर दैनिकका पत्रकार मनोज बडू, २०७३ सालमा दार्चुला एफएमका पत्रकार किरन धामी र २०७४ सालमा सारथी एफएमका पत्रकार लोकेन्द्रप्रसाद जोशीलाई पुरस्कृत गरिएको संस्थाका कार्यकारी निर्देशक शंकरसिह धामीले बताउनुभयो ।
साधारणसभामा ६ जना पुरस्कृत
मिडिया विकास समाज नेपाल दार्चुलाको एघारौं साधारणसभा तथा सामुदायिक रेडियो नयाँ नेपाल एफएमको आठौ वार्षिकोत्सवको अवसरमा ६ जनालाई पुरस्कृत गरिएको छ । कालापानी सिर्जनशील पत्रकािरता पुरस्कारका साथै गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गर्ने पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।
कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार नयाँ नेपाल एफएमका समाचार प्रमुख सन्तोष कोट्टारीले पाएका छन् । मिडिया विकास समाज नेपालको उत्कृष्ट आजीवन सदस्यको रुपमा मालिकार्जुन गाँउपालिका वडा नम्बर २ भगवती न्वालपानीका राजेन्द्रसिह विष्ट पुरस्कृत भएका छन् ।
सामुदायिक रेडियो नयाँ नेपाल एफएमको उत्कृष्ट रेडियोकर्मीमा ईश्वरी बुढाथोकी पुरस्कृत भएका छन् भने साझेदार मिडिया मालिकार्जुन एफएमको उत्कृष्ट रेडियोकर्मीमा लेकम गाँउपालिका वडा नम्बर ५ रिठचौपाताका गोकर्ण मिश्रलाई पुरस्कृत गरिएको छ ।
साझेदार मिडिया दार्चुला सन्देश दैनिकको उत्कृष्ट पत्रकारमा दुहुँ गाँउपालिका वडा नम्बर १ पिपलचौरीका पत्रकार जनकराज भट्ट र कालापानी पोष्ट साप्ताहिकको उत्कृष्ट पत्रकारमा मालिकार्जुन गाँउपालिका वडा नम्बर २ भगवती खुनाका किशनसिह धामी पुरस्कृत भएका छन् ।
कालापानी सिर्जन पत्रकारिता पुरस्कारको राशी ५ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ भने अन्य पुरस्कारको राशी जनही १ हजार १ सय रुपैयाँ र सम्मानपत्र छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !