मेरो विरुद्ध नियोजित प्रयास भइरहेको छ ः व्यास गाँउपालिका अध्यक्ष

0
2691

दार्चुला, माघ १६ गते ।
व्यास गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले आफुविरुद्ध नियोजित रुपमा चरित्र हत्या गर्ने प्रयास भइरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका उपल्लोस्तरका नेताहरु नै आफुविरुद्धको नियोजित प्रयासमा लागिपरेको उहाँले आरोप लगाएका छन् ।
माघ १४ गते गाँउ कार्यपालिका बैठकमा वडा नम्बर ४ का वडाअध्यक्ष संग्रामसिह विष्टलाई गाँउपालिका अध्यक्षले आक्रमण, गालीबेज्जती र ज्यानमार्ने धम्की दिएको भन्दै गलत प्रचार गरिएको उहाँले बताउनुभयो । बुधवार दार्चुला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै गाँउपालिका अध्यक्ष बुढाथोकीले “आफुले विधि, प्रक्रिया र पदीय मर्यादाअनुसार भूमिका निर्वाह गरेको” बताएका छन् ।
कार्यपालिका बैठकमा वडा नम्बर ४ का अध्यक्ष विष्ट “अमर्यादित रुपमा प्रस्तुत भएपछि आफुले बैठकस्थल बाहिर पठाउन खोजेको” उहाँले बताउनुभयो । “एकपटक होइन धेरैपटक मलाई भ्रष्टाचारी भनेपछि बैठकस्थल बाहिर जान भनेको हुँ” पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष बुढाथोकीले भन्नुभयो, “मैले वडाअध्यक्षलाई भौतिक आक्रमण, गालीबेज्जती र ज्यानमार्ने धम्की दिएको भन्दै विज्ञप्ति र समाचार आएको छ, यो सही होइन ।”
बैठकमा “वडाअध्यक्ष संग्रामसिह विष्टले धम्कीपूर्ण व्यवहार गरेको” गाँउपालिका उपाध्यक्ष हेमा भट्टले बताउनुभयो । मंगलवार मात्रै “वडाअध्यक्ष विष्टमाथि गाँउपालिका अध्यक्षले भौतिक आक्रमण गरेको” भन्दै नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले विज्ञप्ति निकालेको थियो । बुधवार व्यास गाँउपालिकाका तर्फबाट विज्ञप्ति निकाल्दै पदाधिकारीहरुले पत्रकार सम्मेलन समेत गरेका छन् ।
“गाँउ कार्यपालिका बैठकमा मतभेद र विवाद हुनु स्वाभाविक भए पनि विधि र प्रक्रियाअनुसार निस्कर्षमा पुग्नुपर्नेमा आफ्नो दृढ अडान रहेको” गाँउपालिका अध्यक्ष बुढाथोकीको भनाई छ ।
“गाँउपालिका बैठकमा देखिएको मतभेद र असन्तुष्टि आपसी छलफल र सहमतिमा टुंग्याउनुपर्नेमा वडाअध्यक्ष विष्टले जिल्ला सदरमुकाम पुगेर वढाइचढाई गरेको” गाँउपालिका अध्यक्षको भनाई छ । “गाँउपालिका अध्यक्षको भूमिकामा आफुले कहिल्यै पनि विधि, प्रक्रियाविपरित काम नगरेको” उहाँले दावी गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा व्यास गाँउपालिकाका प्रवक्ता धिरनसिह बुढाथोकीका साथै गाँउ कार्यपालिका सदस्यहरु जयराम लोहार र भागरथी धामीको समेत उपस्थिति रहेको थियो ।