यातायात सेवा सहज बनाउन स्थानीय सरकार प्रमुखहरुको आग्रह

0
2408

दार्चुला, मंसिर १० गते ।
दार्चुलामा एक सातादेखि अस्तव्यस्त बनेको सार्वजनिक यातायात सेवालाई तत्काल सहज बनाउन स्थानीय सरकार प्रमुखहरुले आग्रह गरेका छन् । आइतवार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरोकारवालाहरुको बैठकमा जनप्रतिनिधिहरुले नागरिकको दैनिक जीवनमा असर परिरहेको भन्दै तत्काल यातायात सेवा सहज बनाउन आग्रह गरेका हुन् ।
निर्धारित क्षमताभन्दा बढी सिट राखेर यात्रु ओसारेको भन्दै मंसिरको सुरुमा प्रहरीले जीपका पछाडिका सिट हटाएको थियो । जीप व्यवसायीले ४ जना यात्रु बोकेर सेवा दिन नसकिने भन्दै बुकिङमा मात्रै गाडी चलाउन थालेका छन् ।
आइतवारको बैठकमा जिल्ला समन्वय समिति प्रमुख करवीरवहादुर कार्कीले सार्वजनिक यातायात सेवा सहज बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । नागरिकलाई प्रत्यक्ष असर पुगेकाले तत्काल उचित विकल्प खोज्न उहाँले आग्रह गर्नुभयो ।
महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले सवारीसाधनको तत्काल व्यवस्थापन गरी यातायात सेवा सुचारु गर्न आग्रह गर्नुभयो । सम्बन्धित निकायबाट अनुमति लिएर गाडीमा सिट संख्या बढाउन यातायात व्यवसायीलाई उहाँले आग्रह गर्नुभएको छ ।
नौगाड गाँउपालिका अध्यक्ष प्रेमसिह धामीले स्थानीय परिवेश र आवश्यकतालाई दृष्टिगत गरी तत्काल उचित विकल्पमा जानुपर्ने बताउनुभयो । महाकाली लोकमार्गका साथै जिल्लाभित्रका अन्य सडकमा पनि नियमित यातायात सेवा सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।
मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्रसिह धामीले सार्वजनिक यातायात सहज र नियमित सञ्चालनमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । दार्चुलाका सडकहरु कमजोर अवस्थामा रहेको र सवारीसाधनको यान्त्रिक चेकजाँच पनि समय समयमा गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
दुहुँ गाँउपालिका अध्यक्ष पुलेन्द्रवहादुर कार्कीले कानुनी व्यवस्थाको पालना गर्दै यातायात सेवा सहज बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । स्थानीय जनताको आवश्यकतालाई सम्बोधन गर्दै सार्वजनिक हितका लागि सक्रिय हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले स्थानीय परिस्थिति र आवश्यकतालाई मध्यनजर गर्दै कानुन पालनाको पक्षलाई आफुहरुले कडाइ गरेको बताउनुभयो । आइतवारको बैठकमा व्यास गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी, शैल्यशिखर नगरपालिका प्रतिनिधि एवंं वडाअध्यक्ष मदनसिह रावल, मार्मा गाँउपालिका प्रतिनिधि एवं वडाअध्यक्ष पुष्करसिह विष्ट पनि सहभागी रहनुभएको थियो ।
बैठकले एक महिनाभित्र दार्चुलाका सञ्चालित जीपहरुले सिटको क्षमता बढाउने र प्रालि दर्ता गर्ने निस्कर्ष निकालेको छ । बैठकमा यातायात व्यवसायी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।