राजश्वमा मिडिया विकास समाजको सवा पाँच लाख योगदान

0
2103

दार्चुला, पुष ३ गते ।
दार्चुलामा क्रियासिल नागरिक संस्था मिडिया विकास समाज नेपालले एक वर्षको अवधिमा नेपाल सरकारको राजश्वमा सवा पाँच लाख रुपैयाँ योगदान पुर्याएको छ । आर्थिक वर्ष २०७५÷७६ को अवधिमा ५ लाख २४ हजार ९ सय ६१ रुपैयाँ राज्यको कोषमा दाखिला गरिएको संस्थाका कार्यकारी निर्देशक शंकर सिंह धामीले बताउनुभयो ।
सुशासन र सञ्चारको क्षेत्रमा क्रियासिल नागरिक संस्था मिडिया विकास समाज नेपालले नौ वर्षदेखि दार्चुलामा सामुदायिक रेडियो नयाँ नेपाल एफएम पनि सञ्चालन गर्दै आइरहेको छ । संस्था र रेडियोको आर्थिक कारोबार गर्दा सवा पाँच लाख रुपैयाँ राज्यकोषमा कर राजश्व दाखिला गरिएको संस्थाले जनाएको छ ।
मंसिर १५ गते संस्थाको बाह्रौं साधारणसभा र रेडियोको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको छ । साधारणसभा तथा वार्षिकोत्सव समारोहमा संस्थाको प्रगति प्रतिवेदन तथा वित्तिय प्रतिवेदन प्रस्तुत गरिएको छ । संस्था र रेडियोको आर्थिक अवस्थाबारे चौमासिक र वार्षिक रुपमा विवरण सार्वजनिक गरिदै आएको संस्थाका अध्यक्ष पदम सिंह बडालले बताउनुभयो ।
गत आर्थिक वर्षमा ४ लाख ९५ हजार ५ सय ३७ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) वाफत राज्यकोषमा संस्थाले रकम दाखिला गरेको छ । घरवहाल करवाफत १२ हजार रुपैयाँ, सामाजिक सुरक्षा करवाफत ९ हजार १ सय १२ रुपैयाँ नेपाल सरकारको कोषमा जम्मा गरिएको संस्थाका कोषाध्यक्ष मिनवहादुर धामीले बताउनुभयो ।
गत आर्थिक वर्षको कारोबारमा ७ हजार २ सय ६२ रुपैयाँ आयकर र ७ सय ५० रुपैयाँ पारिश्रमिक कर दाखिला गरेको संस्थाको वित्तिय प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा संस्थाले नेपाल सरकारलाई ३ लाख ४४ हजार ८ सय ८३ रुपैयाँ कर राजश्व तिरेको अभिलेख छ । यसैगरी, आर्थिक वर्ष २०७३÷७४ मा ३ लाख ६४ हजार १ सय ८५ रुपैयाँ कर राजश्व नेपाल सरकारलाई संस्थाले तिरेको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) को कारोबारअन्तर्गत खरिद र विक्रीको हिसाब मिलानपछि संस्थाले यो रकम सरकारी कोषमा दाखिला गरेको कार्यकारी निर्देशक शंकर सिंह धामीको भनाई छ । आर्थिक वर्ष २०७३÷७४ को भन्दा ४४.१४ प्रतिशत बढी र आर्थिक वर्ष २०७४÷७५ को भन्दा ५२.२१ प्रतिशत बढी रकम नेपाल सरकारको कोषमा जम्मा गरी संस्थाका तर्फबाट योगदान गरिएको उहाँले बताउनुभयो ।