लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान वडास्तरसम्म

0
2451

दार्चुला, मंसिर ७ गते ।
यसवर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान महाकाली नगरपालिकाले वडास्तरसम्म सञ्चालन गर्नेभएको छ । अभियान सञ्चालनको तयारीका लागि विहिवार बसेको बैठकले अभियानअन्तर्गत सञ्चालन गरिने क्रियाकलापको निर्धारण गरेको हो ।
महाकाली नगरपालिका प्रमुख हंसराज भट्टको अध्यक्षतामा बसेको बैठकले नौवटै वडासम्म अभियानको सन्देश पुर्याउने तयारी गरेको हो । वडास्तरमा रहेका माध्यमिक विद्यालयमा केन्द्रीत गरी सचेतनामूलक कार्यक्रम गरिने भएको छ ।
नोभेम्बर २५ अर्थात मंसिर ९ देखि सुरु भई डिसेम्बर १० अर्थात मंसिर २४ गतेसम्म सञ्चालन गरिने अभियानअन्तर्गत विभिन्न क्रियाकलापको सञ्चालन गरिने भएको छ । मंसिर ९ गते खलंगामा प्रभातफेरिको आयोजना गरिने छ ।
वडास्तरमा अभियानअन्तर्गत सचेतनामूलक कार्यक्रम गर्न चारवटा गैरसरकारी संस्थालाई संयोजनको जिम्मेवारी समेत दिइएको छ । वडा नम्बर १, ६ र ७ मा सामुदायिक ग्रामिण विकास समाज नेपाल, वडा नम्बर २ र ३ मा समाज कल्याण समाज, वडा नम्बर ४ र ५ मा व्यासी सौका समाज तथा वडा नम्बर ८ र ९ मा संकल्प दार्चुलाको संयोजनमा वडास्तरीय कार्यक्रम हुनेछन् । वडामा रहेका माध्यमिक विद्यालयमा केन्द्रीत गरी वडास्तरीय कार्यक्रम गरिने निर्णय भएको छ ।
महाकाली नगरपालिकाअन्तर्गत महिला तथा वालवालिका शाखाले अभियानको शुभारम्भ र समापन कार्यक्रमको संयोजन गर्नेछ । लैंगिक हिसाविरुद्धको अभियानसंगै समुदाय प्रहरी साझेदारी कार्यक्रमको वडास्तरीय समिति समेत गठन गरिने नगर प्रमुख हंसराज भट्टले बताउनुभयो ।
वडा नम्बर १ मा मंसिर १० गते, वडा नम्बर २ मा मंसिर ११ गते, वडा नम्बर ३ मा मंसिर १२ गते सचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ । वडा नम्बर ४ र ५ को संयुक्त रुपमा मंसिर २४ गते अभियानको समापन कार्यक्रमसंगै सचेतनामूलक कार्यक्रम गरिने भएको छ ।
वडा नम्बर ६ मा मंसिर १६ गते, वडा नम्बर ७ मा मंसिर १७ गते, वडा नम्बर ८ मा मंसिर १४ गते र वडा नम्बर ९ मा मंसिर १९ गते सचेतनामूलक कार्यक्रम गरिनेछ र्। लैंगिक हिंसा दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ यसवर्षको अभियान सञ्चालन हुन लागेको महाकाली नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख प्रेमा बडूले बताउनुभयो ।
यसवर्षको लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरीका सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।