विचारमा विविधता विकासमा एकता गरौं ः प्रदेशसभा सदस्य धामी

0
2202

दार्चुला, फागुन २२ गते ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य मानवहादुर धामीले राजनीतिक विचारमा विविधता भए पनि विकासमा सबै एकतावद्ध हुनुपर्ने बताएका छन् । बुधवार शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा दीपेन्द्र स्मृति भलिवल कपको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुलुकमा भएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि सबै राजनीतिक शक्तिको योगदान आवश्यक रहेको उहाँले बताउनुभयो । तीन तहको संरचना फरक फरक पार्टीबाट निर्वाचित जनप्रतिनिधि भए पनि जनता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई केन्द्रमा राखेर सबैले काम गर्नुपर्ने उहाँको भनाई छ ।
निर्वाचनमा एउटा पार्टी र चुनाव चिन्हबाट जिते पनि निर्वाचित भएपछि सबै जनताका साझा जनप्रतिनिधिको रुपमा भूमिका खेल्न उहाँले जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । “हामीबीच विचारमा विविधता छ, यो स्वाभाविक छ तर विचारमा विविधता भए पनि विकासमा एकता गर्नुपर्छ” उहाँले भन्नुभयो ।
खेलकुद क्षेत्रको विकासका लागि आफ्नो व्यक्तिगत र प्रदेश सरकारको सक्रियता निरन्तर रहने उहाँको भनाई छ । खेलकुद क्षेत्रका प्रतिभाहरुको पहिचान गर्न र क्षमता अभिवृद्धि गर्न तथा खेल अनुशासनका लागि प्रतियोगिताहरु उपयोगी भएको उहाँले बताउनुभयो ।
शैल्यशिखर नगरपालिका प्रमुख अमरसिह धामीले खेलकुदको विकासका लागि नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । खेलकुद प्रतियोगिता सञ्चालनमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष नारायण दाहालले जिल्लाभरीको खेलकुदको विकास र क्रियासिलताका लागि सबैको सहयोगको अपेक्षा गर्नुभयो । दीपेन्द्रसिह धामी स्मृति प्रतिष्ठानको आयोजना भएको भलिवल कपमा ९ टीमको सहभागिता रहेको छ ।
भलिवल कपको उपाधि विजेतालाई ७१ हजार १ सय ७१ रुपैयाँ नगदसहितको पुरस्कार राखिएको छ ।