विप्लवका गतिविधि नियन्त्रण गर्न सुरक्षा सतर्कता

2500

दार्चुला, फागुन २९ गते ।
दार्चुलास्थित सुरक्षा निकायहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि नियन्त्रण गर्न उच्च सुरक्षा सतर्कता अपनाएका छन् । विप्लव नेतृत्वको पार्टीले घोषणा गरेको फागुन ३० गते नेपाल बन्दको पूर्वसन्ध्यामा जिल्लाभरी सुरक्षा सतर्कता अपनाइएको हो ।
बुधवार जिल्ला सुरक्षा समितिको बैठक बसी जिल्लाभरीको शान्तिसुरक्षाको अवस्थाबारे समीक्षा गरिएको छ । “कानुनविपरितका गतिविधिहरु हुन नदिन र भइहाले तत्काल नियन्त्रण गर्ने गरी सुरक्षा व्यवस्थापन गरिएको” प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टले बताउनुभयो ।
नेपाल सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको अनौपचारिक खवर सार्वजनिक भएपछि जिल्लास्तरमा सुरक्षा सतर्कता बढाइएको हो । विप्लव नेतृत्वको नेकपाले बुधवार मसाल जुलुस प्रदर्शन तथा फागुन ३० गते विहिवार नेपाल बन्दको घोषणा गरेको छ ।
बुधवार दिउसो जिल्ला सुरक्षा समितिको बैठक बसेलगत्तै सदरमुकाम खलंगा बजार क्षेत्रमा प्रहरी परिचालन बढाइएको छ । खलंगाका आधा दर्जनभन्दा बढी चोकमा प्रहरी नायव निरीक्षक (सई) को कमाण्डमा सुरक्षाकर्मी खटाइएका छन् ।
नियमित प्रहरी गस्तीमा असईको कमाण्डमा टोली परिचालन हुँदैआएकोमा “विप्लव नेतृत्वको नेकपाको कार्यक्रमलाई लक्षित गरी सईको कमाण्डमा टोली खटाइएको” सुरक्षा स्रोतले बतायो ।
“दार्चुला सदरमुकाम जोड्ने महाकाली लोकमार्गमा पनि सुरक्षा गस्ती भइरहेको” दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले बताउनुभयो । बोहरा नेतृत्वको टोलीले बुधवार अपरान्ह मालिकार्जुन गाँउपालिकाको मेलखेतसम्म लोकमार्ग गस्ती गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकमा “विप्लव नेतृत्वको नेकपाको दार्चुलामा क्रियासिलता, सांगठनिक अवस्था र बन्दको घोषणामा गर्न सक्ने गतिविधिबारे छलफल गरिएको” स्रोतले बतायो । “सदरमुकाम खलंगा क्षेत्रमा विप्लव नेतृत्वको नेकपाको कमजोर उपस्थिति रहेको तर चमेलिया र मार्मा क्षेत्रमा केही गतिविधि हुनसक्ने” जिल्ला सुरक्षा समितिमा समीक्षा गरिएको स्रोतले बतायो ।
“जिल्लाभरीका सबै प्रहरी युनिटहरुमा विप्लव नेतृत्वको नेकपाका गतिविधिमा निगरानी गर्न र कुनै गतिविधि भएमा तत्काल नियन्त्रण गर्न भनिएको” सुरक्षा स्रोतले जानकारी दिएको छ । जिल्लाभरी शान्तिसुरक्षाको अवस्था सामान्य बनाइराख्न र कानुन विपरितका गतिविधिलाई तत्काल नियन्त्रण गर्न सबै सुरक्षा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो ।
फागुन ३० गते विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरे पनि महाकाली लोकमार्ग क्षेत्रमा यातायात सञ्चालन गराउने सुरक्षा तयारी छ । गोकुलेश्वरदेखि खलंगासम्मको लोकमार्गमा सुरक्षाकर्मीको स्कर्टिङ हुने प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले बताउनुभयो । सार्वजनिक यातायात सेवालाई सुचारु बनाउन लोकमार्ग क्षेत्रमा गाडीमै सुरक्षाकर्मीको स्कर्टिङ हुने उहाँले जानकारी दिनुभयो ।
विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको घोषणालाई लक्षित गरी विहिवार सरकारी गाडी सञ्चालनमा समेत सतर्कता अपनाइएको छ । नेपाल बन्दको क्रममा सरकारी गाडीलाई लक्षित गरी घटना हुनसक्ने भन्दै जिल्लाका सबै सरकारी कार्यालयहरुलाई स्थानीय प्रशासनसंग समन्वय गरेर मात्र गाडी सञ्चालन गर्न भनिएको स्रोतले बतायो । जिल्लास्थित सबै सरकारी कार्यालयहरुमा यसबारे सर्कुलर गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !