व्यासको विवाद सुल्झाउन नेताहरु छलफलमा

0
2293

दार्चुला, माघ १७ गते ।
व्यास गाँउपालिकामा जनप्रतिनिधिबीच देखिएको विवाद सुल्झाउन जिल्लास्तरमा राजनीतिक दलका नेताहरुले छलफल थालेका छन् । गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी र वडा नम्बर ४ का वडाअध्यक्ष संग्रामसिह विष्टबीच कार्यपालिका बैठकमा विवाद भएको विषय जिल्लास्तरमा पुगेपछि समाधानको प्रयास थालिएको हो ।
माघ १४ गतेको कार्यपालिका बैठकमा सम्पूरक कोषको बजेट बाँडफाँडबारे छलफल हुदा विवाद भएको थियो । विवादका बीच गाँउपालिका अध्यक्षले आफुमाथि हातपात गरेको वडाअध्यक्षको आरोप छ भने आचारसंहिता विपरित वडाअध्यक्ष बैठकमा प्रस्तुत भएको गाँउपालिका अध्यक्षको भनाई छ ।
गाँउपालिका बैठकको घटनाबारे माघ १५ गते नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले विज्ञप्ति निकालेको थियो । त्यसको भोलिपल्ट व्यास गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रवक्तासहितका कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरी घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । गाँउपालिकाका तर्फबाट विज्ञप्तिसमेत निकालिएको छ ।
नेकपा दार्चुलाले विहिवार पत्रकार सम्मेलन गर्दै घटनाप्रति आफ्नो सरोकार र प्रतिक्रिया देखाएको छ । नेकपा दार्चुला र वडाअध्यक्ष विष्टले गाँउपालिका अध्यक्षविरुद्ध सार्वजनिक मुद्दा चलाउन खोजे पनि प्रक्रिया अगाडि बढेको छैन । प्रहरीले जनप्रतिनिधिमाथि मुद्दाको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अन्यौलता भएको जनाएको छ । घटनाको बारेमा वास्तविकता बुझ्ने काम पनि भइरहेको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो ।
विहिवार मात्रै नेकपा र नेपाली काग्रेसका जिल्ला नेताहरुले प्रहरीसंग छुट्टाछुट्टै छलफल गरेका छन् । दुबै पक्षसंगको छलफलमा प्रहरीले आपसी छलफल र सहमतिबाट विवाद समाधान गर्न भनेको छ ।
प्रहरीसंगको छलफलपछि विहिवार साँझ दुबै पार्टीका नेताहरु छलफलमा बसेका छन् । घटनाको पृष्ठभूमि, विषयवस्तु र समाधानको विकल्पबारे छलफल भइरहेको नेकपा दार्चुलाका प्रस्तावित अध्यक्ष गणेशसिह खत्रीले बताउनुभयो । व्यास गाँउपालिकाको विवाद संवाद र छलफलबाटै समाधान गर्न आफुहरुले सक्दो प्रयास गरिरहेको नेपाली काग्रेस दार्चुलाका सभापति ललितसिह बोहराको भनाई छ ।
दुई पार्टीको छलफलमा नेकपाका तर्फबाट प्रस्तावित जिल्ला अध्यक्ष खत्रीका साथै नेताहरु उदयसिह बडाल, ज्ञानेन्द्र घर्ति र नगेन्द्र तिंकरी सहभागी छन् । नेपाली काग्रेसका तर्फबाट जिल्ला सभापति बोहराका साथै नेताहरु विक्रमसिह धामी र धिरेन्द्रसिह साउद सहभागी छन् ।
दुइ पार्टीका नेताहरुबीचको छलफलबाट निस्कर्षमा पुगेपछि गाँउपालिकाका जनप्रतिनिधिहरुलाई राखेर सहमति गराइने दुइदलिय छलफलमा सहभागी एक नेताले बताउनुभयो ।
व्यास गाँउपालिकाको विवादले जिल्लास्तरमै नराम्रो सन्देश दिएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताउनुभयो । “विवाद र मतभेद सबैतिर हुन्छन् तर छलफल र संवादमार्फत सहमतिको प्रयास गरिनुपर्छ” उहाँले भन्नुभयो । व्यास गाँउपालिकाको विवाद सुल्झाएर जिल्लाको राजनीतिक नेतृत्वले सबै स्थानीय तहका लागि सकारात्मक सन्देश दिन सक्नुपर्ने उहाँको भनाई छ ।