व्यास क्षेत्रमा विदेशीको प्रवेशमा निगरानी गर्न सर्कुलर ।

0
2716

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले विना अनुमति दार्चुलाको व्यास क्षेत्रमा प्रवेश गर्ने विदेशी नागरिकमाथि निगरानी गर्न जिल्लास्तरमा सर्कुलर गरेको छ । नेपाल सरकारले १५ जिल्लाका केही क्षेत्रहरुलाई विदेशी नागरिकका लागि अनुमति लिएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था गरेको छ ।
अध्ययागमन ऐन २०४९ मा ‘नेपाल राज्यको तोकिएको क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले भिसाको साथै तोकिए बमोजिम अनुमति लिनु पर्ने’ व्यवस्था भएकाले ऐनको व्यवस्था कार्यान्वयन गर्न विभागले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । ‘तोकिएको शर्त पूरा गरे नगरेको बारे सजगतापूर्वक निगरानी, चेकजाँच गराउन’ विभागले प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
अनुमति विना पदयात्रामा जाने गरेको गुनासो सुनिएकाले यस्तो कदम चालिएको अध्यागमन विभागको पत्रमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय ‘मातहतका प्रहरी कार्यालयहरु र चेकपोष्टहरुमा आवश्यक निर्देशन’ गर्न विभागले पत्राचार गरेको छ । विभागको सर्कुलरअनुसार जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो ।
दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले व्यासक्षेत्रमा रहेका सितापुल र तिंकर प्रहरी चौकीलाई यसबारे निर्देशन दिइसकेको जानकारी दिनुभयो । ‘व्यास क्षेत्रमा पुग्ने विदेशी नागरिकलाई चेकजाँच गर्न र उनीहरुको अभिलेख राख्न निर्देशन गरिएको’ डिएसपी अधिकारीले बताउनुभयो ।
कुनै पनि विदेशी नागरिकले अध्यागमन विभागको अनुमति विना व्यास क्षेत्रमा प्रवेश गर्न नपाइने कानुनी व्यवस्था छ । ‘भारतीय नागरिकको हकमा समेत व्यास क्षेत्रमा विना अनुमति प्रवेश गर्न नपाइने’ प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयबाट जेठ ७ गते यसबारे प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ । अध्यागमन विभागले भने वैशाख ११ गतेको मितिमा पत्राचार गरेको अभिलेख छ । प्रशासन कार्यालयले व्यास गाँउपालिका कार्यालयलाई समेत यसबारे लिखित जानकारी गराएको छ ।
व्यास क्षेत्रमा सुरक्षाकर्मीको वर्षभरी उपस्थिति हुँदैन । चैत्रदेखि असोजसम्म व्यासको सितापुल र तिंकरमा प्रहरी टोली बस्दछ । भारतीय सीमाक्षेत्र भएकाले केही भारतीय नागरिक व्यास गाविसको क्षेत्रमा आउने गर्दछन् । तर अध्यागमन विभागको अनुमति लिएको अभिलेख छैन । व्यास क्षेत्रकै केही हिमाली क्षेत्रमा सयौं भारतीय नागरिकले यार्सागुम्बा संकलन समेत गर्ने गरेका छन् ।
अध्यागमन नियमावली २०५१ अनुसार दार्चुलाको व्यास क्षेत्रमा पदयात्रा वा भ्रमण गर्न चाहने विदेशीले एक हप्ताको ९० अमेरिकी डलर शुल्क तिरेर अनुमति लिनुपर्छ । एक हप्ताभन्दा बढी भ्रमण गर्दा प्रति दिन १५ अमेरिकी डलर शुल्क बुझाउनुपर्ने नियम छ ।
सामरिक महत्व र पर्यटकीय क्षेत्र भएकाले नेपाल सरकारले १५ हिमाली जिल्लाका केही क्षेत्रलाई अनुमति विना विदेशीको भ्रमणमा रोक लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here