व्यास गाँउपालिकाको प्राविधिक टोली र सुरक्षाकर्मी कालापानीमा

2456

दार्चुला, मंसिर ९ गते ।
व्यास गाँउपालिकाको प्राविधिक टोली र व्यासमा रहेको नेपाली प्रहरीको टोली शनिवार भारतद्वारा अतिक्रमित भूमि कालापानी क्षेत्रमा पुगेको छ । व्यास गाँउपालिकाले चालु आर्थिक वर्षको बजेटबाट मर्मत गर्न लागेको गोरेटो बाटो मर्मत कार्यको स्थलगत अनुगमन गर्न टोली कालापानीसम्म पुगेको हो ।
शनिवार विहान ७ बजे व्यासको छाङरुबाट हिडेको ७ जनाको टोली कालापानीबाट दिउसो १२ बजेट फर्किएर साझ छाङरु पुगेको छ । कालापानी क्षेत्रमा नेपाली टोली करिब एक घण्टासम्म बसेको व्यास गाँउपालिकाका प्राविधिक सहायक योगेन्द्रसिह ऐतवाललले बताउनुभयो ।
तीनजना प्राविधिक कर्मचारी, तीनजना सुरक्षाकर्मी र एकजना उपभोक्ता समितिका पदाधिकारी सम्मिलित टोलीले कालापानीमा भारतीय सुरक्षाकर्मीले बनाएको महाकाली मन्दिरको दर्शनसमेत गरेका छन् । बाटो मर्मतको स्थलगत अनुगमन गए पनि आफुहरुले कालापानी क्षेत्रमा रहेको महाकाली मन्दिरको समेत दर्शन गरेको इन्जिनियर गोपिचन्द बुढाथोकीले बताउनुभयो ।
नेपाली टोली कालापानीमा पुग्दा भारतीय सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । भारतको आइटिविपीका सुरक्षाकर्मीहरुले आफुहरुसंग परिचय मागेको र नाम, ठेगानासहितको विवरण राखेको इन्जिनियर बुढाथोकीको भनाई छ ।
व्यास गाँउपालिकाका इन्जिनियर गोपीचन्द बुढाथोकी, सव इन्जिनियर धिरेन्द्र विष्ट, प्राविधिक सहायक योगेन्द्रसिह ऐतवालको टोली कालापानी पुगेको छ । व्यासको छाङरुमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरु गणेशप्रसाद जोशी, धनवहादुर चन्द र आनन्द विष्ट तथा गोरेटो बाटो मर्मत उपभोक्ता समितिका कोषाध्यक्ष नारायणी ऐतवाल पनि साथमै रहेका थिए ।
भारतीय सुरक्षाकर्मीले आफुहरुसंग समन्वय गरेर कालापानीमा रहेको महाकाली मन्दिरको दर्शन गर्न सकिने बताएका छन् । सीमाक्षेत्रमा आउदा परिचयपत्र बोकेर ल्याउन समेत भारतीय सुरक्षाकर्मीले आग्रह गरेको इन्जिनियर बुढाथोकीले बताउनुभयो । नेपाली टोलीलाई भारतीय सुरक्षाकर्मीले प्रतिक्षालयमा बसाल्दै चियासमेत खुवाएको उहाँको भनाई छ ।
सीमाक्षेत्र भएकाले सुरक्षाकर्मीसहित आफुहरु स्थलगत अनुगमनमा निस्केको व्यास गाँउपालिकाका प्राविधिक सहायक योगेन्द्रसिह ऐतवालले बताउनुभयो । भारतीय सुरक्षाकर्मीले आफुहरुबारे चासो राखे पनि कुनै प्रकारको दुव्र्यवहार नगरेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !