व्यास गाँउपालिका कार्यालयमा तालाबन्दी

2801

दार्चुला, माघ १६ गते ।
नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले बुधवार दिउसोदेखि व्यास गाँउपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । व्यास गाँउपालिका वडा नम्बर ४ का वडाअध्यक्ष संग्रामसिह विष्टलाई गाँउपालिका अध्यक्षले कार्यपालिका बैठकमै आक्रमण गरेको भन्दै नेकपा कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।
बुधवार दिउसो १ बजेदेखि अनिश्चितकालिन तालाबन्दी गरिएको नेकपाका प्रस्तावित जिल्ला सदस्य दिलिपसिह डडालले फोनमा बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी व्यास गाँउपालिकाका प्रस्तावित सचिव उपेन्द्रसिह कुवरको नेतृत्वमा नेकपाका स्थानीय नेताकार्यकर्ताहरुले तालाबन्दी गरेका हुन् ।
बुधवार दिउसो कार्यालयमा कर्मचारीहरुलाई कोठावाहिर निकाल्दै नेकपाका कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन् । नेकपाको व्यास गाँउपालिका कमिटीका तर्फबाट बुधवार प्रेस विज्ञप्तिसमेत निकालिएको छ । विज्ञप्तिमा “गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले पदीय मर्यादा र सार्वजनिक जीवनको आचरण विपरित सार्वजनिक अपराध गरेको” आरोप लगाइएको छ । गाँउपालिका अध्यक्षलाई कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडि नबढेसम्म गाँउपालिकाको कार्यालयमा तालाबन्दी जारी रहने विज्ञप्तिमा उल्लेख छ ।
गाँउपालिका अध्यक्ष बुढाथोकीले भने बुधवार सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै घटनामा आफु निर्दोष भएको बताएका छन् । आफुविरुद्ध वडाध्यक्ष संग्रामसिह विष्ट र नेकपा कम्युनिष्ट पार्टीले नियोजित रुपमा वदनामी गरिरहेको गाँउपालिका अध्यक्षको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !