व्यास घोरेटो बाटोको डिपिआर तयारीमै ढिलाइ

0
2202

एक महिनामा तयार गरिने डिपिआरमा तिन महिना लाग्यो
दार्चुला, फागुन ३० गते ।
त्रिदेशीय सिमाक्षेत्र व्यास जोड्ने घोरेटो बाटो पुनर्निर्माणको डिपिआर तयारीमा ढिलाइ भएको छ । एक महिनाभित्र डिपिआर तयार गर्ने भनिएकोमा तीन महिनासम्म पनि डिपिआर बनेको छैन ।
भारतबाट अतिक्रमित कालापानी–लिम्पियाधुरा–लिपुलेक क्षेत्रको नजिक नेपाली भूभाग जोड्ने घोरेटो बाटो मर्मत गरी सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्ले मंसिर २३ गते निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले बाटो पुननिर्माणको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई दिएको थियो ।
विभागले परादर्शदातामार्फत पुष पहिलो हप्ता डिपिआर निर्माण गर्न थालेकोमा ३ महिनासम्म डिपिआरको टुंगो लागेको छैन । विभाग र परामर्शदाताको टोलीले पुष ८ गते दार्चुलामा सरोकारवालासंग छलफल गर्दै एक महिनाभित्र डिपिआर तयार गरिने बताएका थिए ।
केही प्राविधिक कारणले डिपिआर तयारीमा ढिलाइ भएको स्थानीय पूर्वाधार विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर महेश्वर घिमिरेले बताउनुभयो । ‘नयाँ प्रविधिबाट घोरेटो बाटो निर्माण गर्नुपर्ने भएकोले डिपिआर तयारीमा केही बढी समय लागेको हो’ उहाँले भन्नुभयो । ‘एक÷दुई दिनभित्रै डिपिआर तयार गरी मन्त्रालयमा पेश गरिने’ उहाँले बताउनुभयो ।
डिपिआर तयारीको जिम्मेवारी पाएका परामर्शदाता इन्जिनियर जयराज पन्तले दुई हप्ताअघि नै आफुले विभागमा डिपिआर बुझाएको बताउनुभयो । इन्जिनियर पन्तले पेश गरेको डिपिआरमा लागत बढी देखिएपछि विभागले पुनरावलोकन गरिरहेको जनाएको छ ।
परामर्शदाताले राप्लाको दुम्लिङदेखि बुँदीसम्मको १६ दशमलव ४ किलोमिटर लामो बाटो निर्माणका लागि २५ करोड बजेट लाग्ने विवरण विभागमा पेश गरेको छ । सडक निर्माणको जति बजेट बाटो निर्माणमा लाग्ने देखिएपछि विभागले बाटो निर्माणको लागत घटाउन थप अध्ययन गरेको स्थानीय पूर्वाधार विभागका इन्जिनियर जनकराज पन्तले बताउनुभयो ।
दुम्लिङदेखि बुँदीसम्मको घोरेटो बाटोअन्तर्गत चट्टानको बीचमा पुल राख्न प्रस्ताव गरिएको छ । भिरालो चट्टान भएको क्षेत्रमा १३ सय ३० मिटर लामो पुल निर्माणको गृहकार्य भइरहेको छ । नयाँ प्रविधिको पुल भएकोले यसको डिजाइन र प्राविधिक तयारीमा केही समय बढी लागेको इन्जिनियर जनकराज पन्तले बताउनुभयो ।
स्विजरल्याण्डको प्रविधि भएकाले त्यहाँका प्राविधिकसंग यसबारे थप छलफल र परामर्श गरिएको विभागले जनाएको छ । भिरालो चट्टानको बीचमा बनाइने पुललाई टेन्टिलिभर पुल भनिन्छ । डिपिआरको स्वीकृतिपछि ठेक्का प्रक्रियामार्फत पुल निर्माण गरिने विभागले जनाएको छ । चट्टानमा एंकल ब्लक निर्माण गरी पुल राखिनेछ । टेन्टिलिभर पुल बाहेक थप दुइटा ट्रस पुल पनि राखिने विभागका इन्जिनियर पन्तले बताउनुभयो ।
व्यास जोड्ने बाटोको चौडाई १ मिटर २० सेन्टिमिटर हुने विभागले जनाएको छ । परामर्शदाताले पेश गरेको डिपिआरको मस्यौदा पुनरावलोकन गरी बाटो निर्माण तथा मर्मतको लागत १५ करोडको हाराहारीमा झारिएको विभागका इन्जिनियर जनकराज पन्तले बताउनुभयो ।
दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले व्यास जोड्ने बाटोबारे आफुले राजनीतिक र प्रशासनिकस्तरमा पहल गरिरहेको बताउनुभयो । ‘एक हप्ताभित्र ठेक्का निकाल्ने जानकारी पाएको छुँ, डिपिआर तयारीमा ढिलाइ भए पनि थप ढिलाइ नगर्न पहल र खवरदारी गरिरहेको छुँ’ उहाँले भन्नुभयो ।
व्यास जोड्ने घोरेटो बाटोको डिपिआर निर्माणमा केही ढिलाइ भए पनि बाटो सञ्चालनलाई सरकारलाई उच्च प्राथमिकता दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदु नाथ पौडेलले बताउनुभयो । ‘केही प्राविधिक कारणले डिपिआर तयारीमा ढिलाइ भएको होला तर यसको निर्माण र सञ्चालनलाई सरकारले उच्च प्राथमिकता दिएको छ’ उहाँले भन्नुभयो । हाल काठमाण्डौमा रहेका प्रजिअ पौडेलले राजनीतिक र प्रशासनिकस्तरमा भेटघाट गरी व्यासको बाटो निर्माणलाई गतिदिन आफुले पहल गरिरहेको बताउनुभयो ।