व्यास बाटो निर्माणको सर्भे टोली फर्कियो

2017

दार्चुला, पुष ११ गते ।
नेपाल सरकारको निर्णयअनुसार व्यास क्षेत्र जोड्ने बाटो निर्माणका लागि सर्भे गर्न स्थलगत भ्रमणमा गएको सर्भे टोली सदरमुकाम फर्किएको छ । बुधवार खलंगाबाट भारतीय बाटो हुँदै बुँदी पुगेको प्राविधिक टोलीले दुम्लिङदेखि बुँदीसम्मको बाटो निर्माणको सर्भे गरेको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङदेखि वडा नम्बर १ छाङरुसम्मको घोरेटो बाटो निर्माण गर्नेबारे मन्त्रिपरिषद्ले मंसिर २३ गते निर्णय गरेको थियो । बाटो निर्माणका लागि सर्भे डिजाइन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले काम थालेको हो ।
विभागले सिनियर डिभिजनल इन्जिनियर महेश्वर घिमिरेको नेतृत्वमा प्राविधिक टोली दार्चुला पठाएको हो । प्राविधिक टोलीका रहेका इन्जिनियर जनकराज पन्त, परामर्शदाता इन्जिनियर जयराज पन्त, व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिह बोहरा, परामर्शदाता टीमका सदस्य गंगादत्त जोशीलगायतको टोलीले बुँदीदेखि दुम्लिङसम्मको बाटो निर्माणबारे स्थलगत अध्ययन र सर्भेक्षण गरेको हो ।
धारचुलाबाट भारतको बाटो हुँदै बुँदी पुगेको प्राविधिक टोली बँुदीबाट दुम्लिङ हुँदै खलंगा फर्किएको हो । स्थलगत भ्रमणको क्रममा भूगोलको अध्ययन गरिनुका साथै बाटो निर्माणका लागि एलाइनमेन्टको पहिचान गरिएको परामर्शदाता इन्जिनियर जयराज पन्तले बताउनुभयो । आधा दर्जनभन्दा बढी स्थानमा गम्भीर प्रकृतिको बाटो निर्माण गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । ‘केही ठाँउमा चट्टानकै बीचमा फलामे डन्डी हालेर पुल जस्तो संरचना बनाउनुपर्ने देखिन्छ’ उहाँले भन्नुभयो ।
दुम्लिङदेखि बुँदीसम्मको करिब २५ किलोमिटर लामो क्षेत्रमध्ये करिब २५ देखि ३० प्रतिशत भूभागमा नयाँ बाटो निर्माण गर्नुपर्ने देखिएको छ । ‘केही ठाँउमा सामान्य कामदारमार्फत बाटो बनाउन सकने अवस्था छ भने केही स्थानमा जिलेटिनकै प्रयोग गर्नुपर्ने आवश्यकता पनि देखिन्छ’ इन्जिनियर पन्तले भन्नुभयो ।
बाटो निर्माण चुनौतीपूर्ण भए पनि नेपाल सरकारको प्राथमिकता भएकाले चाँडै बाटो निर्माण गरिनेमा व्यासक्षेत्रका वासिन्दा आशावादी भएको व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । ‘लामो समयदेखिको हाम्रो माग सम्बोधन हुँदैछ, आउदो सिजनमै नेपालकै बाटो भएर व्यासक्षेत्र जान सकिने वातावरण बन्नुपर्छ’ उहाँले भन्नुभयो ।
व्यासक्षेत्र जोड्ने घोरेटो बाटो निर्माणको डिजाइन इस्टिमेट एक महिनाभित्र तयार गरिसक्ने प्राविधिक टोलीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर महेश्वर घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !