व्यास र दारमा जोड्ने वैकल्पिक सडक बनाइने

0
2387

दार्चुला, मंसिर २४ गते ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतले धारचुला तहसिलअन्तर्गतका व्यास र दारमा घाटी जोड्न वैकल्पिक सडक बनाइने बताएका छन् । धारचुला तहसिलदेखि उत्तरतर्फका यी दुई क्षेत्रलाई जोड्न वैकल्पिक सडक बनाउन सीमा सडक संगठन (विआरओ)लाई आग्रह गरिने मुख्यमन्त्रीले बताउनुभयो ।
धारचुलादेखि महाकाली नदी किनारैकिनार व्यास जोड्ने सडक निर्माणाधिन अवस्थामा छ । भारतीय सेनाको सडक निर्माण कम्पनी सिमा सडक संगठनले यो सडक बनाइरहेको छ । अहिले धारचुलादेखि लखनपुरसम्मको करिब ६० किलोमिटर लामो सडक सञ्चालनमा छ ।
तवाघाटदेखि दारमा घाटी जाने सडक छुटिन्छ । व्यास क्षेत्र जोड्ने सडक भने महाकाली नदीको किनारैकिनार बनाइदै छ । लखनपुरदेखि मालपा, बुँदी, छियालेक हुदै व्यास क्षेत्र जोड्ने सडक बनाइदैछ ।
मुख्यमन्त्री रावतले भारतीय क्षेत्रको भित्री भूभागलाई जोड्दै अर्को सडक निर्माण गरिने बताएका हुन् । अहिले भारततर्फ महाकाली नदी किनार क्षेत्रको गव्र्याङ, गुञ्जी, कालापानी क्षेत्रमा सडक निर्माण भइसकेको छ । लखनपुरदेखि बुँदीसम्मको क्षेत्र भने सडक निर्माणाधिन अवस्था छ । धारचुलादेखि करिब १ सय किलोमिटर लामो सडक बनाउन लागिएको छ ।
नेपालको अतिक्रमित क्षेत्र गुञ्जी, कालापानी र नाभिढागमा भारतको ठूलो सुरक्षा उपस्थिति छ । नेपाल, भारत र चीनको सिमाना रहेको उक्त क्षेत्रमा भारतले सुरक्षा संवेदनशीलता देखाउदै आएको छ ।