‘शिक्षामा लगानी अनुसारको उपलब्धि छैन’

0
2424

दार्चुला, भदौ २३ गते ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा महाकाली नगरपालिकाले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले शिक्षामा लगानी अनुसारको उपलब्धि हुन नसकेको बताएका छन् । महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले लगानी अनुसारको उपलब्धि हासिल हुन नसकेको बताउनुभयो ।
‘शिक्षामा राज्यको पर्याप्त लगानी नभए पनि अरु क्षेत्रभन्दा बढी छ तर लगानी अनुसारको उपलब्धि हुन सकेको छैन’ नगर प्रमुख भट्टले भन्नुभयो । महाकाली नगरपालिकामा मात्रै गत आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १५ करोड रुपैयाँ बजेट खर्च भएको उहाँले बताउनुभयो ।
शिक्षाको अधिकांश बजेट शिक्षकको तलबभत्तामा खर्च भइरहेको छ । गतवर्ष खर्चभएको १५ करोडमध्ये ११ करोड रुपैयाँ शिक्षकको तलबमा मात्रै खर्च भएको नगर प्रमुख भट्टले बताउनुभयो ।
‘लगानी अनुसारको प्रतिफल छैन, हामी सबै सरोकारवाला यसबारे गम्भीर हुनुपर्छ’ महाकाली नगरपालिका प्रमुख भट्टले भन्नुभयो । महाकाली नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष एवं मावि खलंगाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्करराज जोशीले शिक्षाको उपलब्धि हासिल गर्न सबैको योगदान आवश्यक रहेको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयदेव महराले अहिलेसम्मको शिक्षाको उपलब्धि सन्तोषजनक नभएको बताउनुभयो । ‘व्यवस्था परिवर्तनसंगै शिक्षाको क्षेत्रमा धेरै सुधारको गृहकार्य भइरहेको’ उहाँको भनाई छ ।
महेन्द्र मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशीले शिक्षामा गुणस्तर बढाउन आवश्यक रहेको बताउनुभयो । शिक्षामा लगानी बढाउनुका साथै सरोकारवालाको सक्रिय भूमिका पनि आवश्यक रहेको उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले ‘राज्यको धेरै लगानी भए पनि शिक्षा क्षेत्रको उपलब्धि सन्तोषजनक नभएको’ बताउनुभयो । ‘विभिन्न वहानामा विद्यार्थीबाट गैरकानुनी रुपमा विद्यालयहरुले शुल्क उठाएकोमा’ उहाँले आपत्ति जनाउनुभयो ।