शैक्षिक नगरीमा कति हुन्छ पढाइ ?

0
2557

महाकाली नगरपालिकालाई शैक्षिक नगरी बनाउने उदघाेष नगरपालिका प्रमुख, नगरपालिकाका प्रवक्ता मात्रै नभएर नगर कार्यसमितिका सदस्यहरुले पनि पटक पटक दोहोर्याएको देखिन्छ । महाकाली नगरपालिकालाई शैक्षिक नगरी बनाउँन कै लागि पनि नगरपालिकाले आफ्नै शिक्षा ऐन बनाएर वडा अध्यक्षहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाएको छ । शिक्षा ऐन र शैक्षिक नगरीको प्रतिफल आउने यो पहिलो शैक्षिक सत्र हो । यो शैक्षिक सत्रमा महाकाली नगरबासी र यो क्षेत्रमा विद्यार्थी अध्ययनका लागि पठाउने अभिभावकहरुले चमत्कारिक परिवर्तन खोजेका नहोलान् तर एक वर्षमा आउनु पर्ने परिवर्तन आयो कि आएन भनेर पक्कै पनि समीक्षा गरेको हुनु पर्दछ । हाम्रोतिर यस्ता विषयमा सार्वजनिक वहस गर्ने वा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्रवृत्ति नै नभएकोले यस विषयमा सार्वजनिक वहस हुँदैन । विद्यालयहरुले वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यालयको प्रगति प्रतिवेदन सार्वजनिक गर्छन् ।
स्थानीय सरकारले आफ्नो सरकारको एक वर्षे उपलब्धी सार्वजनिक गर्नु पर्छ भन्दा कसैको उछितो काढेको नठानियोस्, यो आम नागरिकको चासाेको विषय हो । त्यसमाथि नगरपालिकाले शैक्षिक नगरी बनाउने भन्दै आएको छ र व्यवस्थापन पनि आफ्नो तरिकाले गरेको छ । वडा अध्यक्षकै नेतृत्वमा विद्यालय व्यवस्थापन हुँदा भौतिक निर्माण वा अन्यका लागि निकासा हुने वजेटमा कति वचत भयो ? कक्षा कोठामा हुने शिक्षण कार्यकलापमा कति परिवर्तन भयो ? गत वर्षभन्दा यो वर्ष भर्ना दर कति बढ्यो ? गत वर्षको तुलनामा यो वर्ष विद्यार्थीको सिकाइ उपलब्धीमा कति सुधार आयो ? नगरपालिकाले पौन्याखोला, मसिनी, बबा, धङ्ल्याडी क्षेत्रका विद्यालयमा बिगतको भन्दा के परिवर्तन आयो ? आदि प्रश्नहरुको जवाफ कसैले नमागे पनि नगरपालिकाले आफ्नो जिम्मेवारी सम्झेर सार्वजनिक गर्नु पर्दछ ।
सदरमुकामबाट चार पाँट घण्टा हिडेर पुगिने विद्यालयहरुमा अझै पनि विद्यार्थीहरु चिसो भूइँमा बस्न बाध्य छन् । पर्याप्त भवन र फर्निचर परै जाओस् सामग्री र शिक्षक पनि ती क्षेत्रमा पर्याप्त छैनन् । नगरपालिकाले सबै विद्यालयहरुमा समानुपातिक हिसाबले वजेट उपलब्ध गराएको हुनु पर्दछ । सदरमुकामको विद्यालयलाई १७ लाख रुपैयाँ उपलब्ध गराउँदा दुर्गम क्षेत्रमा रहेका विद्यालयहरुले कति अनुदान पाए ? र सबै विद्यालयहरुले गरेको उपलब्धी आउनु पर्दछ । शनिवारको बिदा छोडेर हेर्ने हो भने यो वर्ष नगरपालिकाका बालबालिकाले साढे आठ महिना मात्रै विद्यालयमा अध्ययन गरे । चैत्रको मध्य नहुँदै यो क्षेत्रमा वार्षिक परीक्षा सकियो । पटक पटक विद्यालय बन्द हुने र चैत्रको सुरु मै अन्तिम परीक्षा सक्ने शैक्षिक नगरीको शैक्षिक व्यवस्थापन होइन होला ।