संघीय संरचनामा दार्चुलाबाट आधा दर्जन कार्यालय बाहिरिए

0
2825

दार्चुला, फागुन ३० गते ।
मुलुकमा संघीय संरचना आएपछि दार्चुलाबाट आधा दर्जन सरकारी कार्यालयहरु बाहिरिएका छन् । सरकारी निकायहरुको संगठन पुनर्संरचना गरिदा बैतडी र डडेल्धुराबाट हेर्ने गरी केही कार्यालय स्थापना गरिएका छन् ।
विगतमा जिल्लाको संरचनामा रहेका जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय हटाइएका छन् । दार्चुलामा कार्यालय हटाइए पनि बैतडी र डडेल्धुरामा कार्यालय राखेर दार्चुलाको कार्यक्षेत्र दिइएको छ ।
संघीय संरचनाले दार्चुलामा सरकारी कार्यालय घटे पनि बैतडी र डडेल्धुरालगायत जिल्लामा विषयगत कार्यालयको संख्या घटेको छैन । कृषि, पशुसेवा, प्राविधिक, भूसंरक्षण, सडक, खानेपानी लगायतका विषयगत कार्यालयहरु बैतडी र डडेल्धुरामा राखिदा दार्चुलाबाट भने कार्यालय हटाइएका छन् ।
अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दुई÷तीन जिल्ला कार्यक्षेत्र हेर्ने गरी विषयगत कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले सञ्चालनमा ल्याएका यस्ता विषयगत कार्यालयहरु दार्चुलामा एउटा पनि छैनन् । बैतडीमा कृषि, पशुसेवा, खानेपानी, पूर्वाधार विकास, सडक कार्यालय सञ्चालनमा छन् ।
सुदूरपश्चिम प्रदेशअन्तर्गतका नौ जिल्लामध्ये दार्चुला भूगोलको हिसाबले तेस्रो ठूलो जिल्ला हो । कैलाली र बझाङपछि दार्चुलाको क्षेत्रफल अन्य जिल्लाभन्दा बढी छ । ठूलो भूगोल र छरिएको जनसंख्या रहेको दार्चुलालाई प्रदेश सरकारको संरचनाले उपेक्षा गरेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताउनुभयो ।
दार्चुला र बैतडी जिल्ला कार्यक्षेत्र राखिएको कृषि ज्ञान केन्द्र बैतडीमा सञ्चालित छ । प्रदेश सरकारअन्तर्गतको यो कार्यालय २०७५ असोजदेखि सञ्चालनमा आएको स्याउ जोन दार्चुलाका प्रमुख विष्णुप्रसाद ओझाले बताउनुभयो । कृषि विकास कार्यालय दार्चुला रहेको भवनमा हाल संघीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको स्याउ जोन कार्यालय सञ्चालनमा छ । परियोजना २०८२ सालसम्म सञ्चालन हुँदैछ । कृषिसेवा प्रदान गर्ने प्रदेश सरकारको छुट्टै इकाई भने दार्चुलामा छैन । बैतडीको कृषि ज्ञान केन्द्रअन्तर्गत दार्चुलामा प्राविधिक कर्मचारीको टोली बस्ने अनौपचारिक जानकारी भए पनि कर्मचारी अभावका कारण कृषि ज्ञान केन्द्रअन्तर्गतको इकाई सञ्चालन नभएको उहाँले बताउनुभयो ।
बझाङ, बैतडी र दार्चुला कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीको पाटनमा राखिएको छ । दार्चुलामा भेटेरिनरी अस्पतालको सम्पर्क केन्द्र मात्रै राखिएको महाकाली नगरपालिकामा कार्यरत पशुसेवाका नाप्रास डम्बरसिह ठगुन्नाले बताउनुभयो । प्रशासनिक कार्य र आर्थिक कारोबार बैतडीमा रहेका कार्यालयबाट सञ्चालन हुदैआएको छ । दार्चुलाको सम्पर्क केन्द्रमा २ जना प्राविधिक कर्मचारी खटाइएका छन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नम्बर १ बैतडी सदरमुकाममा राखिएको छ । दार्चुलामा रहेको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयमा भने बैतडीको डिभिजन कार्यालयको सम्पर्क कार्यालय राखिएको छ । २०७५ मंसिरबाट बैतडीको डिभिजन कार्यालय सञ्चालनमा आएको हो । सुरुमा बझाङ, बैतडी र दार्चुलाको कार्यक्षेत्र हेर्नेगरी बैतडीमा कार्यालय राखिए पनि फागुन २९ गते मात्रै बझाङ र डडेल्धुरा हेर्ने गरी डडेल्धुरामा छुट्टै कार्यालयको उद्घाटन गरिएको छ । बैतडीको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले दार्चुला र बैतडीको क्षेत्र हेर्ने इन्जिनियर प्रकाश रावलले बताउनुभयो ।
नेपाल सरकारले पुष ९ गते गुल्मी र डडेल्धुरामा थप खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्थापना गर्ने निर्णय गरेपछि फागुन २९ मा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहराले डडेल्धुराको कार्यालय उद्घाटन गरेका छन् । देशभरी २८ वटा खानेपानी डिभिजन कार्यालय रहेकोमा डडेल्धुरा र गुल्मीमा कार्यालय थपिएपछि कार्यालय संख्या ३० पुगेको छ ।
दार्चुलाको समेत कार्यक्षेत्र रहेको बैतडीको खानेपानी डिभिजन कार्यालयले प्रशासनिक र आर्थिक कारोबार बैतडीबाटै गर्छ । दार्चुलामा रहेको फिल्ड कार्यालयबाट प्राविधिक सहयोग उपलब्ध गराइने इन्जिनियर प्रकाश रावलको भनाई छ । उपभोक्ता समिति र सेवाग्राहीलाई दार्चुलाको फिल्ड कार्यालयबाटै सम्झौता, भुक्तानीलगायतको सेवा दिइने उहाँले बताउनुभयो । सम्पर्क कार्यालयमा सबै कागजपत्र संकलन गरेर बैतडीस्थित कार्यालयसम्म कर्मचारीले पुर्याउने रावलले बताउनुभयो ।
प्रदेश सरकारअन्तर्गत डडेल्धुरामा भू तथा जलाधार व्यवस्थापन कार्यालय राखिएको छ । कार्यालयको महाकाली अञ्चलका ४ जिल्लामा कार्यक्षेत्र रहेको छ । जिल्लास्तरमा रहेका जिल्ला भूसंरक्षण कार्यालयहरु भने सबै खारेज गरिएका छन् ।
संघीय सरकारअन्तर्गत बैतडीको पाटनमा बृहद जलाधार व्यवस्थापन केन्द्र महाकाली राखिएको छ । महाकाली नदीको जलाधार क्षेत्रमा व्यवस्थापनको कार्य गर्न केन्द्रको स्थापना गरिएको केन्द्रका प्रमुख रामकृष्ण राजथलाले बताउनुभयो । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लामा महाकाली नदीको जलाधार क्षेत्रमा व्यवस्थापनको कार्य गरिने उहाँले बताउनुभयो ।
बैतडी सदरमुकाममा प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । बझाङ, बैतडी र दार्चुला जिल्ला हेर्ने गरी गत असोज २८ देखि पूर्वाधार विकास कार्यालय सञ्चालनमा ल्याइएको इन्जिनियर मदनराज जोशीले बताउनुभयो । जिल्लास्तरमा फिल्ड कार्यालय राख्ने तयारी समेत छ । तर प्रशासनिक र आर्थिक कारोबार बैतडीस्थित कार्यालयबाट हुने उहाँले बताउनुभयो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत पुष ४ गते बैतडीमा स्वास्थ्य कार्यालयको उद्घाटन गरिएको छ । सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीले उद्घाटन गर्नुभएको बैतडीको स्वास्थ्य कार्यालयले दार्चुलाको समेत स्वास्थ्य क्षेत्र हेर्ने जिम्मेवारी छ । पछिल्लो समय नेपाल सरकारले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय खोल्ने निर्णय गरेपछि फागुन ८ गते जिल्लास्तरमा कार्यालय सञ्चालन गर्न पत्र आएको दार्चुलामा कार्यरत नायव सुब्बा चन्द्रसिह धामीले बताउनुभयो ।
बझाङ, बैतडी र दार्चुलाको सडक क्षेत्र हेर्ने जिम्मेवारी पाएको डिभिजन सडक कार्यालय पाटन बैतडी प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने भएको छ । विगतदेखि नै बैतडीको पाटनमा सञ्चालन हुँदैआएको डिभिजन कार्यालयले बैतडीबाट तीन जिल्लाको सडक क्षेत्रमा काम गर्ने भएको छ ।