संघीय सरकारको विशेष र सम्पूरक अनुदान घट्यो

2045

दार्चुला, पुष १५ गते ।
नेपाल सरकारले चालु वर्षमा दार्चुलाका स्थानीय तहहरुलाई उपलब्ध गराएको विशेष र सम्पूरक अनुदान गतवर्षको तुलनामा घटेको छ । गतवर्षको तुलनामा विशेष अनुदान र सम्पूरक अनुदानमा २÷२ करोड न्युन बजेट दिइएको छ ।
दुई साताअघि राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार चालु वर्षमा दार्चुलाका ८ स्थानीय तहहरुमा ८ करोड ९५ लाख ८३ हजार रुपैयाँ विशेष अनुदान दिइएको छ । गत आर्थिक वर्षमा भने दार्चुलाका ४ स्थानीय तहलाई ११ करोड रुपैयाँ सम्पूरक अनुदान दिइएको थियो ।
गतवर्ष महाकाली नगरपालिकाले ३ करोड ५० लाख, मालिकार्जुन गाउँपालिकाले ३ करोड, नौगाड गाउँपालिकाले २ करोड ५० लाख र अपिहिमाल गाउँपालिकाले २ करोड रुपैयाँ विशेष अनुदान पाएका थिए । यो वर्ष अपिहिमाल गाउँपालिकाले विशेष र सम्पूरक दुबै अनुदान पाएको छैन ।
चालु वर्षमा नौगाड गाउँपालिकाले १ करोड ५० लाख, मालिकार्जुन गाउँपालिकाले १ करोड, दुहुँ गाउँपालिकाले १ करोड र महाकाली नगरपालिकाले १ करोड २५ लाख रुपैयाँ विशेष अनुदान पाएका छन् । यसैगरी व्यास गाउँपालिकाले ३५ लाख, मार्मा गाउँपालिकाले १ करोड ५० लाख, लेकम गाउँपालिकाले ७५ लाख र शैल्यशिखर नगरपालिकाले १ करोड ६० लाख विशेष अनुदान पाएको छ ।
विशेष अनुदानबाट अपिहिमाल गाउँपालिकाबाहेक दार्चुलाका सबै स्थानीय तहहरुमा १५ वटा योजना सञ्चालन हुनेछन् । शैल्यशिखर नगरपालिकामा सर्वाधिक ४ वटा योजना छन् । महाकाली नगरपालिका, मार्मा, दुहुँ र नौगाड गाउँपालिकामा २÷२ योजना छन् भने मालिकार्जुन, लेकम र व्यास गाउँपालिकामा एउटा योजना मात्रै विशेष अनुदानबाट सञ्चालन हुने भएका छन् ।
स्थानीय तहहरुले विशेष अनुदानका माग गरेका सबै योजना र कार्यक्रमहरु छनौट गरिएका छैनन् । गतवर्षको तुलनामा विशेष अनुदान पाउने स्थानीय तहको संख्या दोब्बर भए पनि नेपाल सरकारले विनियोजन गरेको विशेष अनुदान बजेट भने २ करोड न्युन छ । व्यास, दुहुँ, मार्मा र लेकम गाउँपालिकाले पहिलो पटक यो वर्ष विशेष अनुदान पाएका छन् ।
संघीय सरकारको यो वर्षको सम्पूरक अनुदान पनि २ करोड कम छ । गतवर्ष दार्चुलाका ६ वटा स्थानीय तहलाई ११ करोड ८६ लाख ६५ हजार सम्पूरक अनुदान उपलब्ध गराएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ । चालु वर्षमा भने ८ वटा स्थानीय तहलाई ९ करोड ३ लाख सम्पूरक अनुदान दिइएको छ ।
मालिकार्जुन गाउँपालिकामा १५ लाख, लेकम गाउँपालिकामा ३९ लाख, व्यास गाउँपालिकामा १ करोड ७६ लाख र शैल्यशिखर नगरपालिकामा १ करोड ३९ लाख रुपैयाँ चालु वर्षमा केन्द्र सरकारको सम्पूरक अनुदान रहेको छ । यसैगरी दुहुँ गाउँपालिकामा १ करोड ११ लाख, महाकाली नगरपालिकामा ७७ लाख, नौगाड गाउँपालिकामा ९० लाख र मार्मा गाउँपालिकामा १ करोड ९७ लाख रुपैयाँ सम्पूरक अनुदान दिइएको छ ।
सम्पूरक अनुदानबाट नौगाड र शैल्यशिखरमा ३÷३ वटा योजना बनाइनेछन् भने बाँकी ६ वटा स्थानीय तहमा एउटा योजना बनाउन प्रस्ताव गरिएको छ । सम्पूरक अनुदानबाट बनाइने योजनामा कुल लागतको आधा बजेट सम्बन्धित स्थानीय तहले व्यहोर्नुपर्ने व्यवस्था छ ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा १० र ११ को व्यवस्थाअनुसार नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई विशेष र सम्पूरक अनुदान उपलब्ध गराउछ । गत वर्षदेखि दुबै प्रकारको अनुदान दिन थालिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !