सङ्कटमा जीवन !

2221

यति बेला विश्व कोरोनाको संक्रमणले संकटग्रस्त छ । मृतकको सतगत गर्ने मान्छे समेत नपाइने अवस्था सिर्जना भएको छ । ब्रिटेनका राजकुमारसहित उच्च पदस्थ कर्मचारी र नेताहरुमा समेत कोरोनाको संक्रमण देखिएको छ भने अमेरिका जस्तो देशले बाह्र घण्टामा दुई सयभन्दा बढी नागरिक कोरोनाकै कारण गुमाएको छ । विश्वकै उच्च तकनिक भएका देशहरुको अवस्था त यस्तो छ भने एक मात्र प्रयोगशाला, सीमित परीक्षण सामग्री र कमजोर स्वास्थ्य सेवा भएको हाम्रो देशमा कोरोनाको संक्रमण कति द्रुत गतिमा फैलिने हो सहजै अनुमान गर्न सकिन्छ । कोरोना संक्रमणबाट बच्न हाम्रो एक मात्र उपाय सामाजिक दुरीको पालना गर्ने कुरा मात्रै देखिन्छ तर यही कुराको उलंघन भएको देखिन्छ । जिल्ला बाहिर वा देश बाहिरबाट आएका नागरिकहरु छुट्टै बस्न सकेका छैनन् । छुट्टै बस्नु त परको कुरा हो उनीहरु निर्बाध गाउँ, चोक र स्थानीय बजारमा घुम्दैछन् । कयन त स्थानीय सरकारले स्थापना गरेका कोरेन्टाइनबाट भागेको खबर छ । हामी आफ्नै स्वास्थ्यप्रति यति लापरवाह कसरी हुन सक्छौं ?
यो बेला हाम्रो र छिमेकि देशमा समेत लक डाउन छ तर दैनिक बिसौं जना सिमा पुल खोल्ने आशामा पुल पारी भेला हुने गरेका छन् । यसका पछाडि नेपालीहरुको घर परिवारको मोहभन्दा पनि भारतीय पक्षमा देखिएको मानवताको संकट प्रमुख कारक देखिएको छ । काम गर्ने ठाउँबाट रकम नदिने, काम बन्द भएपछि कामदारहरुलाई न्युनतम् मानवता देखाएर काम सुरु नहुन्जेलसम्म सोही ठाउँमा क्वारेन्टाइन बनाई राख्नु पर्नेमा तिमीहरु आफ्नो देश जोओ भनेर लखेट्ने कार्यलाई कुनै पनि हिसाबले मानवतावादी काम भन्न मिल्दैन । नेपाली कामदारहरुलाई जसरी पनि महाकाली नदी किनारमा पुर्याउने र नेपाल सरकारले तिमीहरुको उद्धार गर्न सकेको छैन, भनेर उनीहरुलाई नेपाल सरकारका बिरुद्ध उराल्ने काम पनि भएको देखिन्छ ।
स्थानीय सरकारहरुले पनि गम्भीर भएर देश वा जिल्ला बाहिरबाट आउनेहरुलाई छुट्टै राख्ने व्यवस्था गर्न सकेका छैनन् । लक डाउन भएको तिन दिन बितिसक्दा बाहिरबाट कोही संक्रमित आएको भए कतिसँग सम्पर्क बनायो होला, कतिसम्म कोरोनाको भाइरस पुग्यो होला ? अझै संक्रमणको लक्षण देखिने समय आएको छैन । लक्षण देखा पर्ने बेलासम्म पनि संक्रमितहरुलाई स्वतन्त्र हिड्ने वातावरण प्रदान गरेर स्थानीय सरकारहरुले गैरजिम्मेवारीको प्रदर्शन गरेका छन् । हो, केही ठाउँमा कोरेन्टाइन मै बसेकाहरु भाग्दै छन्, उनीहरुलाई कानुनी दायरामा ल्याइनु पर्दछ । मेडिकली प्रमाणित नभएका माक्स बाड्ने कामलाई तत्काल बन्द गरेर बाहिरबाट आएकाहरुलाई गाउँ गाउँका क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनु पर्दछ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !