सचिव चयनका लागि एमालेमा दौडधुप

2508

दार्चुला, भदौ २ गते ।
दार्चुलाको पार्टी सचिव भाग परेपछि एमालेमा व्यक्ति चयनका लागि दौडधुप सुरु भएको छ । जिल्ला अध्यक्ष माओवादीको भागमा परेपछि एमालेका तत्कालिन अध्यक्ष रामदत्त जोशी जिल्ला नेतृत्वको दौडबाट बाहिरिएका छन् । नेकपाको जिल्ला अध्यक्षका अर्का आकांक्षी ज्ञानेन्द्र घर्ति, पूर्व उपाध्यक्ष उदयसिह बडाल पूर्व सचिव मोहनसिह धामी र आर्थिक विभाग प्रमुख जहेन्द्रसिह ऐतवालको नाम सचिवको चर्चामा छ ।
पार्टीको जिल्ला अध्यक्ष आफ्नो पक्षमा नपरेपछि निराश बनेका एमाले नेताहरुलाई सचिव चयनको विषय चुनौतीपूर्ण बनेको छ । चारजनाको दाबेदारी देखिएपछि कस्लाई जिम्मेवारी दिने भन्ने टुंगो लागिसकेको छैन ।
माओवादीका तर्फबाट अध्यक्ष को हुने भन्ने टुंगो लागेपछि मात्र सचिवको टुंगो लगाउने सोचमा प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना रहेको स्रोतले बतायो । माओवादीमा अध्यक्षको विवाद रहेकाले अहिले नै सचिवको टुंगो लगाउन नेता ठगुन्ना तयार छैनन् ।
नेताहरु ज्ञानेन्द्र घर्ति, मोहनसिह धामी र उदयसिह बडालको भन्दा ठगुन्नाको रोजाइमा जहेन्द्रसिह ऐतवाल पर्ने आकलन पनि गरिएको छ । विगतदेखिका विश्वासपात्र भएकाले पनि नेकपा केन्द्रीय सदस्य ठगुन्नाले ऐतवाललाई सचिवमा अगाडि सार्न सक्ने सम्भावना रहेको एक नेताले बताए ।
सचिव हुने दौडमा रहेका मोहनसिह धामी काठमाण्डौतर्फ गएका छन् भने अर्का प्रत्यासीहरु ज्ञानेन्द्र घर्ति र उदयसिह बडाल जिल्लामै रहेका छन् । सचिवका लागि चर्चामा आएका जहेन्द्रसिह ऐतवाल पनि आजभोली नै काठमाण्डौ प्रस्थान गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !