सडक निर्माणमा “राजनीतिक संरक्षण” हुँदा राताकाठा दुर्घटना

0
2626

दार्चुला, फागुन २१ गते ।
सुदुरपश्चिम प्रदेशसभा सदस्य मानवहादुर धामीले दार्चुला–तिंकर सडक निर्माणमा राजनीतिक संरक्षण हुँदा राताकाठा दुर्घटना व्यहोर्नुपरेको बताएका छन् । सोमबार महाकाली नगरपालिकाको आयोजनामा खलंगा भएको शिवरात्री महोत्सवमा बोल्दै प्रदेशसभा सदस्य धामीले यस्तो बताएका हुन् ।
फागुन १७ गते दार्चुला–तिंकर सडकको राताकाठामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने गाडीचालक गम्भीर घाइते भएका छन् । राताकाठा क्षेत्रमा सडकको अवस्था जोखिमपूर्ण रहेको छ ।
विकास निर्माणमा राजनीति र नेताहरुले अवरोध पुर्याएको प्रदेशसभा सदस्य मानवहादुर धामीको आरोप छ । “दार्चुला तिंकर सडकको सुरुवातीदेखि राजनीति क्षेत्र र पहुँचवाला नेताले ठेकेदारलाई संरक्षण दिएको” उहाँले बताउनुभयो ।
सडक निर्माणको जिम्मेवारी लिएका ठेकेदारलाई तत्कालिन योजना प्रमुखले कारवाही गर्न खोज्दा पहुँचवाला नेताले २४ घण्टामै योजना प्रमुखको सरुवा गरेको प्रदेशसभा सदस्य धामीको भनाई छ । दार्चुला तिंकर सडक निर्माण सुरु भएको एक दशक भए पनि अपेक्षित प्रगति नहुनुको मुख्य कारण राजनीतिक संरक्षण रहेको उहाँले बताउनुभयो ।
सदरमुकामदेखि ४÷५ किलोमिटर नजिकको क्षेत्रमै सडकको अवस्था जोखिमपूर्ण हुँदा जीप दुर्घटना भएको प्रदेशसभा सदस्य धामीको भनाई छ । दार्चुला तिंकर सडक निर्माणमा ढिलाई र लापरवाहीका लागि वर्तमान सरकार जिम्मेवार नभएको उहाँले बताउनुभयो । “विगतमा सत्ताको नजिक भएका र पहुँच भएका नेताले ठेकेदार संरक्षण गर्दा यस्तो अवस्था आएको हो” शिवरात्री महोत्सवमा प्रमुख अतिथि रहनुभएका प्रदेशसभा सदस्य धामीले भन्नुभयो ।
प्रदेशसभा सदस्य धामीले सम्बोधन गर्नुअघि वालकलाकार मिलन टमटाले राताकाठा जीप दुर्घटनाको प्रसंगमा गीत प्रस्तुति गरेका थिए । राजनीति, नेता र सरकारले सडक निर्माण लगायतको विकास निर्माणमा जिम्मेवारीबोध नगरेकोप्रति मिलनको गीतमा असन्तुष्टि पोखिएको छ ।
प्रदेशसभा सदस्य मानवहादुर धामीले भने वालकलाकार मिलनको गीतमा उल्लेख भएजस्तो विकास निर्माणको अस्तव्यस्तताका लागि नेकपा र अहिलेको सरकार जिम्मेवार नभएको बताउनुभयो ।
दार्चुलाको वालशिखरस्थित नेपाल टेलिकमको टावरमा विद्युत लाइन विस्तारको कार्यमा पनि राजनीतिक नेताकै कारण ढिलाइ भएको उहाँले बताउनुभयो । स्थानीय तहका प्रमुखले नै विद्युत लाइन विस्तारको ठेक्का लिए पनि तीन वर्षसम्म काम नगरेको प्रदेशसभा सदस्य धामीले बताएका छन् ।