सडक सुरक्षाको नियम पालना गरौं

0
2397

तेर्छालेकमा भएको बस दुर्घटनाले सरोकारवाला सबैलाई दुर्घटना न्युनीकरण गर्ने उपायहरु खोज्नेतर्फ सोच्न बाध्य गरेको हुनु पर्दछ । तात्कालीक कारण र अन्य कारणहरुको खोजि गर्नेतिर उनीहरुको ध्यान गएको हुनु पर्दछ भने दुर्घटना हुन नदिन पनि अल्पकालीन र दीर्घकालीन रणनीतिक योजनाका बारेमा पनि अहिले नै ध्यान दिनु जरुरी छ । यस्ता योजना बनाएर कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार पनि हुनु पर्दछ । यसको जिम्मेवारी यातायात व्यावसायी, प्रहरी वा अन्य अरुले मात्रै गर्ने होइन, दुर्घटनाहरु हुन नदिन समाजका हरेक वर्गका मानिसहरु सचेत हुनु जरुरी हुन्छ । जसरी पनि यात्रा गर्नु पर्ने मान्यताबाट यात्रु मुक्त हुनु जरुरी एकातिर छ भने अर्कातिर जति सकिन्छ बढी यात्रु सवारी साधानमा राख्ने र जति चाँडो हिंडौ भन्ने सोचबाट सवारी धनि वा चालक पनि मुक्त हुनु जरुरी छ । जति आए पनि हुन्छ भन्ने मानसिकताबाट नियमनकारी निकाय मुक्त हुनु जरुरी छ भने जति पुरानो साधन पनि प्रयोग गर्ने मानसिकताबाट सवारीधनि मुक्त हुनु जरुरी छ । यसरी यी जति, जसरी, जस्तो कुरालाई हटाउने हो भने दुर्घटनामा केही न्युनता ल्याउन सकिन्छ ।
पहाडि भुभाग, साँघुरो सडक र मौसम पनि पहाडि क्षेत्रमा यातायात दुर्घटनाको कारण बन्ने गरेको देखिन्छ । यसका लागि ट्राफिक, प्रहरी र स्थानीय सरकारले एकीकृत योजना बनाएर कडाइका साथ कार्यान्वयन गर्नु पर्ने हुन्छ । त्यसपछि केही त्रुटी गरी प्रहरीले नियन्त्रणमा लिई कारवाहीमा पर्नेहरुलाई उन्मुक्ति दिन प्रहरीलाई फोन गर्ने प्रवृत्तिको पनि अन्त्य गरिनु पर्दछ । मेरो मान्छे छोडिदिनुस् भन्नेहरुले के थाहा पाउनु पर्छ भने कुनै दिन उसको त्रुटीले आफ्नो परिवारका सदस्य पनि समस्यामा पर्न सक्छन् । प्रहरीले ज्याजति गर्न लागेको छ भने होसियार गराउनु र खबरदारी गराउनु एक कुरा होला, प्रहरीले अनुसन्धान थालेको हुदैन छुटाउन फोन आउन सुरु हुन्छन् र गराउँछन् । यस्तो अवस्थाको पनि अन्त्य हुन सक्यो भने दुर्घटनाका संख्याहरु कम हुन सक्छन् ।
दुर्घटनाहरु हाम्रातिर मात्रै हुने होइनन् । पर्याप्त सडक, कडा सडक सुरक्षा, सचेत व्यवसायी र यात्रुहरु भएका देश र ठाउँमा पनि दुर्घटनाहरु हुन्छन् । दुर्घटना दुर्घटना भएकाले टार्न नसकिने तर्कहरु पनि नआउने होइनन् तर दुर्घटनाका संख्याहरुमा कमि ल्याउन सकिन्छ । दुर्घटनाबाट हुने जनधनको क्षतिमा कमि ल्याउन सकिन्छ । दुर्घटनालाई कम गर्न नसकिए पनि क्षतिलाई कम गर्ने उपायहरु अबलम्बन गर्ने सबै सचेत हुनै पर्दछ । सडक नियमहरुको पालनामा कडाइ ल्याउन नियमनकारी निकाय प्रहरीलाई सहयोग गरे पनि यसमा उपलब्धी हुने देखिन्छ ।