सत्तरी लाख खर्चिएको घोरेटोबाटो क्षतविक्षत

1954

दार्चुला, माघ २० गते ।
व्यास गाउँपालिकाले दुई आर्थिक वर्षमा ७० लाख रुपैयाँ खर्च गरी पुनर्निर्माण गरेको व्यास क्षेत्र जोड्ने घोरेटो बाटो क्षतिविक्षत बनेको छ । महाकाली नदी किनार क्षेत्रमा बनाइएको बाटो भारतीय सडक निर्माण र पहिरोले क्षतिग्रस्त बनेको हो ।
गाउँपालिकाले उच्च प्राथमिकता दिएर व्यास क्षेत्रको बाटो मर्मत गरी सञ्चालनको प्रयास गरे पनि भारतको सडक निर्माण र वर्षातको पहिरोले बाटो क्षतिग्रस्त बनेको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो । नदी किनार छेउको बाटो भारतीय सडक निर्माणले क्षतिग्रस्त बनेको छ । सडक निर्माणमा विस्फोट गरिदा ठूल्ठूला ढुंगाहरु नदीमा र नेपालतर्फ खसेका छन् ।

भारी वर्षा र पहिरोले समेत व्यासको घोरेटो बाटो क्षतिग्रस्त भएको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनुभयो । वर्षातलगत्तै भारतीय बाटो भएर तम्बाकु क्षेत्रमा आफुले भ्रमण गरेको उहाँको भनाई छ । राप्लाको दुम्लिङदेखि महाकालीको किनारैकिनारको पुरानो घोरेटो बाटो पुनर्निर्माण थालिएको थियो ।
आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकाले २५ लाख रुपैयाँ बाटो मर्मतमा खर्चिको छ । पहिलो वर्ष ठेक्काबाट काम गराइएकोमा कारदारको अभाव देखाउदै ठेकेदारले निर्माण कार्यमा ढिलाइ गरेका थिए । व्यास क्षेत्रकै वासिन्दा रहेका ललितसिह बोहरा र शंकरसिह ऐतवालले ठेक्का पाएका थिए । बोहरा नेपाली काग्रेस दार्चुलाका सभापति पनि हुन् ।
२०७५ असारमा गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी आफैले बाटो मर्मत गरिने क्षेत्रको भ्रमण गरेका थिए । ठेकेदारको काम ढिलो र सन्तोषजनक नभएकोमा गाउँपालिका अध्यक्षले सार्वजनिक टिप्पणी गरेका थिए । दुबै ठेक्काको म्याद गत आर्थिक वर्षसम्म थपिएको तर लागत इष्टिमेटअनुसार काम गराइएको गाउँपालिकाको भनाई छ ।
गतवर्ष व्यासक्षेत्रकै बाटोमा गाउँपालिकाले २० लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष ठेक्काबाट बजेट खर्च गरिएकोमा गतवर्ष भने उपभोक्ता समितिबाट काम गराइएको गाउँपालिकाले जनाएको छ । राप्लाको दुम्लिङका जीवनसिह बुढाथोकी अध्यक्ष रहको उपभोक्ता समितिमार्फत २० लाखको काम गराइएको गाउँपालिकाका प्रवक्ता धिरनसिह बुढाथोकीले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष बुढाथोकी नेपाली काग्रेसका वडा नम्बर २ राप्लाका वडा समिति सभापति हुन् ।
गतवर्ष नै प्रदेश सरकारले व्यासको बाटो मर्मतका लागि २५ लाख रुपैयाँ बजेट दिएको थियो । प्रदेशको बजेट पनि उपभोक्ता समितिबाटै खर्च गरिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो । प्रदेश सरकारको २५ लाख बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पनि जीवनसिह बुढाथोकी अध्यक्षताकै उपभोक्ता समितिलाई दिइएको अभिलेख छ । जेठमा मात्रै प्रदेशको बजेट आएकोले समय अभाव रहेको र चाँडो काम गराउनुपर्ने भएकोले पुरानै अध्यक्षलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीको भनाई छ ।
उपभोक्ता समिति र ठेक्कामार्फत गराइएको काम लागत इष्टिमेटअनुसार पूरा गराइएको गाउँपालिका सव इन्जिनियर सञ्जीव शाहले बताउनुभयो । ‘उपभोक्ता र ठेकेदार दुबैबाट इष्टिमेटअनुसार पूरा काम गराइएको छ’ उहाँले भन्नुभयो, ‘वर्षातमा पहिरो र भारतको सडक निर्माणले व्यासको बाटोमा पछि क्षति भएको हो ।’
उपभोक्ता समितिबाट गराइको २० लाखको काममध्ये १९ लाखको प्राविधिक मुल्यांकन गरिएको र प्रदेश सरकारको २५ लाखको बजेटमध्ये २३ लाख ७१ हजार बराबरको प्राविधिक मुल्यांकन भएको सव इन्जिनियर शाहले जानकारी दिनुभयो । उपभोक्ता र ठेकेदार दुबैबाट लागत इष्टिमेटअनुसार पूरा काम गराइएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकीको भनाई छ ।
गाउँपालिका र प्रदेशको सरकारको झण्डै ७० लाख बजेट बाटो मर्मतमा खर्च गरिए पनि दर्जनौ ठाँउमा बाटो भत्किएको छ । दुम्लिङदेखि दोपाखेसम्मको क्षेत्रको बाटो मर्मतमा हालसम्म काम गरिएको छ । तर यसैक्षेत्रमा अधिकांश बाटो भत्किएको व्यास गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । व्यासक्षेत्रका वासिन्दाले नेपालको बाटो भएर आवतजावत गर्न सक्ने अवस्था नरहेको उहाँको भनाई छ । यसवर्षको कुञ्चा भारतीय बाटो हुँदै व्यासबाट खलंगा झरेको उहाँले बताउनुभयो ।
व्यास गाउँपालिकाले चालु वर्षमा पनि व्यासको बाटो मर्मतका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर पछिल्लो समय नेपाल सरकारले व्यासको बाटो मर्मत गर्ने भनेपछि हाल उक्त बजेट थाति राखिएको गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो ।
२० लाख खर्चेर के के काम भयो ?
व्यास गाउँपालिकाले गतवर्ष व्यासको बाटोमा खर्च गरेको २० लाख बजेट गराइएको कामको मुल्यांकन प्राविधिकहरुले गरेका छन् । प्राविधिक मुल्यांकनअनुसार ७५ घनमिटर माटो खन्ने काम भएको छ ।
ग्याविन तारजाली भर्ने काम ८० घनमिटर, नरम चट्टान (सफ्ट रक कटिङ) ४ दशमलव ९८ घनमिटर काट्ने काम भएको छ । त्यसैगरी, मध्यमस्तरको चट्टान ९.९६ घनमिटर र कडा चट्टान ९.९६ घनमिटर काटिएको सव इन्जिनियर शाहले बताउनुभयो ।
स्टोन मेसिनरी वाल ३१.२ घनमिटर, ३६ घनमिटर सोलिङ, २ घनमिटर आरसिसि कलभर्ट बनाइएको छ । कलभर्ट निर्माणमा २ सय ३५ किलोगा्राम सरिया प्रयोग गरिएको छ ।
२५ लाखको काम यस्तो छ ः
गतवर्ष नै सुदूरपश्चिम प्रदेश सरकारले व्यासको बाटो मर्मतमा उपलब्ध गराएको २५ लाख बजेटबाट २०८.३९ घनमिटर माटो खन्ने कार्य गरिएको छ । गाउँपालिकाको प्राविधिक शाखाको अभिलेखअनुसार सुख्खापर्खाल (ड्राइवाल) ३६५.३१ घनमिटर, सोलिङ १५.३९ घनमिटर र स्टोन मेसिनरीवाल ६.७५ घनमिटर बनाइएको छ ।
घाटिबगड क्षेत्रमा महाकाली नदीमा १.२९ घनमिटरको काठेपुल राखिएको सव इन्जिनियर सञ्जीव शाहले बताउनुभयो । कडा चट्टान २४ घनमिटर काटिएको प्राविधिक रिपोर्ट छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !