सवाल सुरक्षा र सतर्कताको

0
1460

स्थानीय सरकारले क्वारेन्टाइनमा राखेकाहरु रातारात भाग्दै छन् । एक हप्तामा जिल्लाभित्र पाँच हजारदेखि आठ हजारसम्म दार्चुलाबासी भित्रिएको अनुमान गरिएको छ । सदरमुकाम खलंगाभित्रै बिदेशबाट आएका आधा दर्जन (हाम्रो सम्पर्कमा आएका) व्यक्तिहरु सेल्फ क्वारेन्टाइनमा छन् । उनीहरुसम्म स्थानीय सरकार पुग्न सकेको छैन । खलंगा भित्रको यो सङ्ख्या बढी हुन सक्छ । स्थानीय सरकारहरुले अहिलेसम्म बाहिरबाट कति जना आएका छन् र उनीहरु कस्तो अवस्थामा छन् भन्ने गणना गर्न सकेका छैनन् । यो बिचमा दुई पटक गरी खलंगा पुलबाट मात्रै तीन सयभन्दा बढी नेपालीलाई नेपाल भित्र्याइएको छ । उनीहरुसँगै आएका दशौं नागरिक महाकालीमा राखिएका अबैध तुइन र ट्युबका सहायताले नेपाल भित्रिएका छन् । एक जनाको एक हजार रुपैयाँ तिरेर भएपनि नेपाल भित्रिनेहरुको सङ्ख्या पनि कम छैन । पछिल्लो तथ्याङ्क हेर्ने हो भने स्थानीय सरकारहरुसँग पनि आएका सबैलाई राख्ने क्वारेन्टाइनमा राख्ने क्षमता देखिदैन । यो समय धेरैको ध्यान खलंगा पुल क्षेत्रबाट नेपाल भित्रिनेहरुमा मात्रै छ, उनीहरुबाट संक्रमण सर्ने त्रास देखिन्छ र यहाँसम्म कि उनीहरुलाई कुनै हातलमा पनि नेपाल भित्र्याउनु हुन्न भन्ने तर्क पनि आइरहेका छन् । मदजुरी गर्न भातरका ग्रामीण भेगमा गएकाहरुबाट खतरा छ कि सयर वा रोजगारीका लागि तेस्रो मुलुक गएकाहरुबाट बढी खतरा छ ? पहिलो किसिमका नागरिकको तुलनामा पछिल्लो किसिमका नागरिकबाट कोरोना संक्रमण सर्ने सम्भावना निक्कै बढी छ । तेस्रो मुलुकमा रोजगारी गर्न गएकाहरु वा भारतकै पनि दिल्ली, बम्बे आदि ठूला सहरमा जहाँ अहिले कोरोनाका संक्रमण देखिएको छ, ती क्षेत्रबाट आएका नेपालीहरु पुल घाट क्षेत्रमा छैनन् । उनीहरु पहिले नै दार्चुला भित्रिई सकेका छन् र कयन त तुइन र ट्युब तरेर पनि आएका छन् । पुल घाट मै जम्मा भएकाहरुमध्ये पनि कयन नागरिक महाकाली तरेर दार्चुला भित्रिई सके ।
राज्यले सबै नागरिकको जिम्मा लिनु पर्दछ । बिगतमा बिदेशमा भएकाहरुले समेत मतदानको अधिकार पाउनु पर्ने स्वरहरु अहिले बिदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउनु हुन्न भन्ने तर्फ मोडिएका देखिन्छन् । एउटा कुरा के प्रष्ट हो भने, यो समय जो जहाँ छ, त्यही सुरक्षित बस्ने हो तर गास र बासको व्यवस्था नै गर्न नसक्ने नागरिकलाई राज्यले हेर्ने कि नहेर्ने ? तेस्रो मुलुकबाट गाउँ भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राख्ने त परै जाओस् उनीहरुको तथ्याङ्क समेत लिन नसक्ने स्थानीय सरकारहरु पुलबाट आउनेहरुले संक्रमण ल्याउने भएकाले उनीहरुलाई ल्याउँदैनौं भन्नु गैरजिम्मेवारी बाहेक केही होइन । हामी सुरक्षा र सर्तकताका हिसाबले अहिलेसम्म निक्कै बढी चुकि सकेका छौं । त्यसैले उच्च सुरक्षा र सतर्कतका साथ सीमावर्ती क्षेत्रमा रहेका नेपालीहरुको उद्धार गर्दा आकास खस्ने अवस्था आउँदैन ।