सांसदको बजेटले दुइ वडा छुटाए

0
2014

दार्चुला, माघ १४ गते ।
सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले बाडफाँड गरेको बजेट जिल्लाभरीका अधिकांश वडामा पुगे पनि मालिकार्जुन गाउँपालिकाका २ वडामा पुगेको छैन । चालु आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट दार्चुलाबाट १२ करोड रुपैयाँ बाँडिएको छ ।
संघीय सांसदहरुले बाड्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड र प्रदेशसभा सदस्यहरुले बाँड्ने प्रदेश पूर्वाधार विकास कार्यक्रमको ६ करोड बजेट बाँडिदा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ भर्तोला र वडा नम्बर ४ हुनैनाथ छुटेका छन् ।
बजेट बाँडफाँड गर्नुपूर्व बसेको नेकपाको जिल्ला कमिटी, जिल्ला सचिवालय र जिल्ला कार्यालयका बैठकहरुमा नौवटै स्थानीय तहका ६१ वटै वडास्तरमा बजेट पुर्याउने सहमति भएको नेकपा दार्चुलाका कार्यालय सदस्य पदमराज पन्तले बताउनुभयो । ‘सबैजसो वडामा बजेट बाँडिएको छ, दुइ वडा छुटेका छन् यसबारे पार्टीभित्र छलफल र समीक्षा गरेका छौ’ उहाँले भन्नुभयो ।
बजेट बाँडफाँडपूर्व बसेको पार्टी बैठक र सांसदहरुको छलफलमा प्रत्येक वडामा कम्तिमा १० लाख बजेट दिने र पार्टी कमिटीमार्फत योजना र कार्यक्रम छनौट गर्ने सहमति भएको थियो । तर बजेट बाँडफाँडमा छलफल र सहमतिअनुसारको काम हुन नसकेको नेकपा दार्चुलाका अध्यक्ष गणेशसिह खत्रीले बताउनुभयो । ‘केही अपुगता र कमजोरी रहेका छन्, यसबारे समीक्षा गरेका छौ र आगामी दिनमा सुधार गर्छौ’ उहाँले भन्नुभयो ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ भर्तोलामा पार्टी र सांसदहरुले बजेट नदिएर उपेक्षा गरेको नेकपाका कार्यकर्ता भोजराज पन्तले बताउनुभयो । ‘समग्र भूगोल र यसक्षेत्रका जनतालाई उपेक्षा गरिएको महशुस भएको छ’ उहाँले भन्नुभयो ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ हुनैनाथमा पनि बजेट नपाएकोप्रति असन्तुष्टि छ । ‘गतवर्ष पनि कसैले बजेट दिएनन्, यसपाली पनि सिंगो वडालाई सबैलाई बिर्सिएका छन्’ वडा नम्बर ४ का वडासदस्य एवं तत्कालिन एमालेका गाउँ कमिटी अध्यक्ष सुरेन्द्रसिह धामीले भन्नुभयो ।
आठमध्ये कमिटीले सिफारिस गरेका २ योजना
दुहुँ गाउँपालिकामा प्रदेशसभा सदस्यले बाड्ने बजेटबाट ८ योजना छनौट गरिएका छन् । छनौट गरिएका ८ योजनामध्ये नेकपाको गाउँपालिका कमिटीले सिफारिस गरेका दुइ योजनामात्रै छन् ।
दुहुँ गाउँपालिकास्थित पार्टीको सचिवालयमा छलफल गरी विभिन्न १७ वटा योजना सिफारिस गरिएको कमिटी अध्यक्ष प्रेमसिह कार्कीले बताउनुभयो । ‘पार्टी कमिटीले सिफारिस गरेकामध्ये दुइ योजना मात्रै छनौट गरिएका छन्’ उहाँले भन्नुभयो ।
अध्यक्ष कार्कीका अनुसार पार्टीको स्थानीय कमिटीले सिफारिस गरेकामध्ये दुइटा पिसिसि बाटोका योजनाहरु छनोट गरिएका छन् । बाँकी योजनाहरु भने नेता र सांसदहरुले व्यक्तिगत रुपमा छनोट गरेको उहाँको गुनासो छ ।
दुहुँ गाउँपालिकाको नेकपाले सिफारिस गरेकामध्ये पिसिसि बाटोका र मन्दिर निर्माणका ५÷५ वटा योजना छन् । पार्टी कार्यकर्ता र शुभचिन्तकले बाटो र मन्दिरका योजना माग गरेकाले त्यसैअनुसार आफुहरुले सिफारिस गरेको अध्यक्ष कार्कीको भनाई छ ।
दुहुँ गाउँपालिकामा ८ योजनामा १ करोड ७ लाख बजेट छ । प्रदेशसभा क निर्वाचन क्षेत्रमा पर्ने ५ स्थानीय तहमध्ये दुहुँ गाउँपालिकामा सर्वाधिक बजेट छुट्याइएको छ । ३ करोड बजेटमा एक तिहाइभन्दा बढी बजेट दुहुँमा छ । दुहुँ गाउँपालिकामा बढी बजेट दिइए पनि पार्टी कमिटीको सिफारिसलाई महत्व नदिइएको अध्यक्ष कार्कीको गुनासो छ । दुहुँ गाउँपालिकाको वडा नम्बर ९ को लस्याखोला तटबन्ध निर्माणमा सबैभन्दा बढी ५० लाख रुपैयाँ छ ।