सांसदले बाडेको बजेट ः लेकमको भन्दा दुहुँमा तेब्बर

0
2173

दार्चुला, माघ ११ गते ।
प्रदेशसभा सदस्यहरुले बाडेको ३ करोडको बजेट बाडफाँडमा ठूलो विभेद गरिएको छ । दार्चुला जिल्लाको प्रदेशसभा क क्षेत्रमा पर्ने लेकम गाउँपालिकाको भन्दा दुहुँ गाउँपालिकाको बजेट तिन गुना बढी छ ।
प्रदेशसभा सदस्यहरु सम्मिलित निर्देशक समितिले मंसिरको अन्तिममा योजना छनौट गरी बजेट बाडफाँड गरेको थियो । प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा नेतृत्वको निर्देशक समितिले लेकम गाउँपालिकामा ४ योजनाका लागि ३५ लाख रुपैयाँ छुट्याएको छ ।
प्रदेशसभा उपसभामुख समेत रहनुभएका समानुपातिक सदस्य निर्मला बडाल जोशीको समेत बजेट बाडफाँडमा हिस्सेदारी छ । बोहरा र बडालको छलफल र सहमतिमा बाडफाँड गरिएको बजेट दुहुँ गाउँपालिकामा १ करोड ७ लाख रुपैयाँ छ । दुहुँमा सर्वाधिक ८ योजना तथा कार्यक्रम छनौट गरिएका छन् ।
महाकाली नगरपालिकामा ६० लाख, मालिकार्जुन गाउँपालिकामा ५० लाख र व्यास गाउँपालिकामा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । महाकालीमा ७ योजना, मालिकार्जुनमा ५ योजना र व्यासमा ५ योजना छनौट गरिएका छन् ।
उपसभामुखको प्राथमिकताका कारण दुहुँ गाउँपालिकाको बजेट बढेको स्रोतले बतायो । उपसभामुख निर्मला बडाल जोशीको माइतीघर दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिला हो । वडा नम्बर २ हिकिलामा मात्रै ३ योजना छानिएका छन् । दुहुँ गाउँपालिकाको वडा नम्बर ३ मा २ योजना छन् । बाँकी वडाहरुमा भने एक÷एक वटा योजना छन् ।
दुहुँ गाउँपालिकाको स्थानीय सरकारमा आफ्नो पार्टीको भूमिका नभएकाले पनि दुहुँ गाउँपालिकालाई बजेट विनियोजनमा प्राथमिकता दिइएको नेकपाका एक जिल्ला सदस्यले बताउनुभयो । ‘स्थानीय सरकारबाट नेताकार्यकर्ता पेलिएको महसुश गरी सबै वडामा योजना र बजेट दिन खोजिएको हो’ दुहुँ गाउँपालिका क्षेत्रकै स्थानीय रहेका नेकपाका अर्का जिल्ला सदस्यले भन्नुभयो ।
प्रदेश ख र संघीय सांसदको बजेट सन्तुलित
चालु आर्थिक वर्षमा प्रदेश ख मा विनियोजन गरिएको ३ करोडको बजेट भने सन्तुलित देखिएको छ । प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य मानवहादुर धामी नेतृत्वको एकल निर्देशक समितिले ख क्षेत्रमा पर्ने चारवटै स्थानीय तहमा समानुपातिक बजेट छुट्याएको छ ।
अपिहिमाल गाउँपालिकामा सर्वाधिक ८० लाख बजेट दिइएको छ । शैल्यशिखर नगरपालिकामा ७५ लाख तथा मार्मा र नौगाड गाउँपालिकामा समान ७१ लाख बजेट विनियोजन गरिएको छ ।
शैल्यशिखरमा योजना संख्या सर्वाधिक ९ छ । यसैगरी, नौगाडमा ८, मार्मामा ७ र अपिहिमालमा ४ योजना छनौट गरिएको जिल्ला समन्वय समितिको कार्यालय दार्चुलाले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्ना नेतृत्वको संघीय सांसदहरुको निर्देशक समितिले बाडफाँड गरिएको ६ करोड बजेट पनि सन्तुलित देखिन्छ । नेपाली काग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको सहमति विना एकतर्फी बजेट बाडफाँड गरिए पनि स्थानीय तहहरुमा समानुपातिक बजेट बाँडिएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नाम दिइएको ६ करोडको बजेटबाट महाकाली नगरपालिकामा सर्वाधिक ९५ लाख रुपैयाँ दिइएको छ । लेकम गाउँपालिकामा ८० लाख, मालिकार्जुन र दुहुँ गाउँपालिकामा ७०÷७० लाख र नौगाड गाउँपालिकामा ६७ लाख ५० हजार बजेट दिइएको छ ।
व्यास गाउँपालिकामा ६० लाख तथा शैल्यशिखर नगरपालिका, अपिहिमाल गाउँपालिका र मार्मा गाउँपालिकामा समान ५० लाख बजेट छुट्याइएको जिल्ला समन्वय अधिकारी मोहनसिह धामीले बताउनुभयो ।
योजना संख्याको आधारमा सर्वाधिक योजना महाकाली नगरपालिकामा ८ वटा छन् । दुहुँ र व्यासमा ६÷६ योजना, मालिकार्जुन र लेकममा ३÷३ योजना तथा नौगाडमा २ योजना छनौट गरिएका छन् । शैल्यशिखर, अपिहिमाल र मार्मामा १÷१ वटा योजना मात्रै छनौट गरिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।