सार्वजनिक सुनुवाईमा सहजिकरणको टुंगो लगाउन कार्यदल

0
2238

दार्चुला, माघ ४ गते ।
नेपाल पत्रकार महासंघ दार्चुलाले स्थानीय तहहरुमा सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरणको टुंगो लगाउन शुक्रवार ४ सदस्यीय कार्यदल बनाएको छ । गत आर्थिक वर्षमा महासंघको समन्वयमा जिल्लामा नौवटै स्थानीय तहहरुमा सार्वजनिक सुनुवाई गरिएको थियो ।
चालुवर्षका लागि सहजिकरणको व्यवस्थापनमा सुधार गर्न आवश्यक रहेकोले कार्यदल गठन गरिएको महासंघका जिल्ला अध्यक्ष शंकरसिह धामीले बताउनुभयो । केही गाँउपालिकाको सहजिकरणमा सुधार गर्नु आवश्यक देखिएकोले कार्यदल बनाइएको उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्रसिह धामीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा महासंघका जिल्ला सचिव कृष्णसिह धामी, कोषाध्यक्ष भोजराज जोशी र सहसचिव मनोज बडू सदस्य छन् । शुक्रवार विहान बसेको महासंघ जिल्ला समितिको बैठकले तीन दिनभित्र छलफल गरी सहजिकरणको टुंगो लगाइ प्रतिवेदन बुझाउन कार्यदललाई जिम्मेवारी दिएको छ ।
महासंघका जिल्ला अध्यक्ष शंकरसिह धामीको अध्यक्षता र प्रदेश समिति सचिव प्रेम चुनाराको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकले व्यास र मालिकार्जुन गाँउपालिकामा गत वर्ष सञ्चालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण प्रभावकारी र सन्तोषजनक भएको निस्कर्ष निकालेको छ । चालु आर्थिक वर्षमा व्यास गाँउपालिकामा सार्वजनिक सुनुवाईको सहजिकरण गर्न मिडिया विकास समाज नेपाल र मालिकार्जुन गाँउपालिकामा सामुदायिक मालिकार्जुन एफएमलाई महासंघले सिफारिससहित समन्वय गर्ने निर्णय गरिएको सचिव कृष्णसिह धामीले बताउनुभयो ।
महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा महासंघको टीमले चालु वर्षमा सार्वजनिक सुनुवाईको सहजिकरण गर्ने निर्णय गरिएको छ । व्यास र मालिकार्जुन गाँउपालिकाबाहेकका ५ गाँउपालिकाको सहजिकरणको टुंगो लगाउन कार्यदल बनाइएको सचिव कृष्णसिह धामीले जानकारी दिनुभयो ।
महासंघको प्रस्ताव र शर्तबमोजिम सार्वजनिक सुनुवाईको सहजिकरण गर्न सम्वद्ध रेडियोहरु तयार नभएमा बाँकी सबै गाँउपालिकाहरुमा महासंघ आफैले सहजिकरण गर्ने निर्णय समेत गरिएको छ ।