सुदुरपश्चिममा १३ विओपी थपिदा दार्चुलामा एउटा मात्र

2166

दार्चुला, पुष ७ गते ।
सुदूरपश्चिममा सशस्त्र प्रहरीका १३ वटा विओपी थपिने भएका छन् । मन्त्रिपरिषद्को विहिवार सार्वजनिक निर्णयअनुसार थपिने १ सय १४ विओपीमध्ये सुदूरपश्चिम प्रदेशका १३ छन् । सुदूरपश्चिम प्रदेशका ५ जिल्लाबाट २१ विओपी राख्न केन्द्रसम्म सिफारिस गरिएको थियो ।
थपिने विओपीमध्ये कैलाली र कञ्चनपुर जिल्लामा ६÷६ वटा रहेको प्रदेश राजधानीस्थित सुरक्षा स्रोतले बतायो । तराईका दुई जिल्लासंगै दार्चुलाको व्यासक्षेत्रमा एउटा विओपी थपिदैछ । दार्चुलामा सदरमुकाम बाहिर ७ ठाँउमा विओपी राख्नुपर्ने जिल्ला सुरक्षा समितिले ठहर गरेको छ ।
जिल्ला सुरक्षा समितिले उपयुक्त ठाँनेका ७ मध्ये ५ वटा प्रस्तावित ठाँउको विवरणसहितको फाइल केन्द्रमा पठाइएको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति डम्बरवहादुर विष्टले बताउनुभयो । ‘हामीले लाली, जोलजिवि, सुन्सेरा र तिंकरमा विओपी स्थापनाका लागि फाइल केन्द्रमा पठाएका छौ’ गुल्मपति विष्टले भन्नुभयो, ‘व्यासको छाङरुका लागि त केही महिनाअघि देखि नै प्रक्रिया चलिरहेको थियो ।’ दत्तु र दुम्लिङमा पनि विओपी राख्न आवश्यक ठानिएको तर यी दुबै ठाँउको फाइल केन्द्रमा पठाउन बाँकी रहेको उहाँले बताउनुभयो ।
छाङरुपछि लालीमा विओपी स्थापनालाई प्राथमिकता दिएर केन्द्रमा फाइल पठाइएको गुल्मपति विष्टले बताउनुभयो । ‘छाङरुको विओपीबारे निर्णय भएको जानकारी आएको छ तर लालीको बारे केही जानकारी आएको छैन’ उहाँले भन्नुभयो ।
कैलाली र कञ्चनपुर जिल्लामा प्रस्तावित सबै विओपीहरु चाँडै स्थापना हुने सम्भावना रहेको धनगढीस्थित सुरक्षा स्रोतले बतायो । तराईका जिल्लामा विओपी स्थापनाका लागि धेरै समय नलाग्ने सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठको पनि भनाई छ । ‘हिमाली क्षेत्रको भन्दा तराईमा छोटो समयमा विओपी स्थापना गर्न सकिन्छ, आवश्यकताअनुसार जिल्लास्तरकै निर्णय र सक्रियताले पनि विओपी राखिन्छन्’ उहाँले भन्नुभयो ।
भारतसंग सिमा जोडिएका बैतडी र डडेल्धुरा जिल्लामा पनि एक÷एक वटा विओपी राख्न प्रस्ताव गरिएको छ । तर सरकारले विहिवार सार्वजनिक गरेको निर्णयअनुसार थपिने १ सय १४ विओपीहरुमा कैलाली र कञ्चनपुरका ६÷६ वटा र दार्चुलाको छाङरुमा राखिने विओपी मात्रै परेको सुरक्षा स्रोतको भनाई छ ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ८ जुलाघाटमा र डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ परशुरामधाम परिगाँउमा विओपी स्थापनाको प्रस्ताव गरिएको छ । उत्तरी सिमाना चीनसंग जोडिएको बझाङ जिल्लामा भने विओपी स्थापनाका लागि कुनै गृहकार्य भएको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !