सुरक्षाका लागि तयारी आवश्यक

0
2320

दार्चुलाको उत्तरी सिमा क्षेत्रमा बाह्रै महिना सुरक्षा उपस्थिति हुने गरी जग्गा व्यवस्थापन गर्ने र स्थलगत अध्ययन गर्ने कुराले ‘देशको उत्तरपश्चिमी क्षेत्र सुरक्षाविहीन छ’ भन्ने समाचार लेख्ने काम बन्द हुन सक्ने देखिएको छ । वास्तवमा देशको सिमा सुरक्षाविहीन मात्रै नभएर छ महिना मानवविहीन हुन्छ भन्ने कुरा स्थानीय सञ्चार माध्यमदेखि राष्ट्रिय सञ्चार माध्यमहरुले पटक पटक उठाएका छन् । प्रतिनिधि सभा सदस्यहरुले पटक पटक संसदमा उठाएका छन् । पछिल्लो पटक त लिखित नै दिनु पर्यो, सांसदले । देशको सिमा क्षेत्रमा सुरक्षाकर्मी राख्न राज्य जिम्मेवार हुनु पर्दछ तर राज्यको ध्यान आकर्षण गर्न सांसदले नै संसदको ध्यानाकर्षण गराउनु पर्ने बाध्यता किन पर्यो ? राज्यले स्वस्फूर्त रुपमा यो क्षेत्रमा सुरक्षा संयन्त्र राख्ने तयारी किन गर्न सकेन ? राज्यले दार्चुलाको यो क्षेत्रलाई किन उपेक्षा गर्दै आयो ? पञ्चायत कालमा प्रहरी, भन्सार, क्वारेन्टाइन राखिएको यो क्षेत्रमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको एक दशकभन्दा बढि बितिसक्दा पनि सुरक्षा उपस्थितिको आवश्यकता किन महसुस भएन ? यस्ता कयन प्रश्नहरु मात्रै होइन पटक बाटो मर्मत योजनाका लागि वजेट विनियोजन हुने तर राप्लादेखि तिंकरसम्मको बाटो वर्षेनी अबरुद्ध हुने अवस्था कसरी आयो ? बन्दै नबने र बाध्य भएर स्थानीयले गाइवस्तु समेत व्यास पुर्याउन भारतीय बाटो प्रयोग गर्नु पर्ने स्थिति कसरी आयो ? भन्ने जस्ता प्रश्नहरुको जवाफ खोज्नु नै छ । तर अहिले सरकारले व्यास क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) राख्ने योजना बनाएको, त्यसका लागि सशस्त्रले स्थलगत अध्ययन गरि सकेको र जग्गा उपलब्ध गराउने समेत निर्णय भई सकेकाले सम्भवतः अबको एक दुई वर्ष मै यो क्षेत्रमा सुरक्षा उपस्थिति देखिने छ । यसका लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै धन्यवादका पात्र छन् । राष्ट्र, स्वतन्त्रता, सार्वभौमिकता र माटोभन्दा ठूलो अरु हुनै सक्दैन तसर्थ यो कार्य जतिसक्दो चाँडो टुंगिनु पर्दछ । हाम्रो सिमा क्षेत्रभित्र हाम्रो सुरक्षा उपस्थिति हुनु पर्दछ ।
व्यासमा सुरक्षा फौज बाह्रै महिना राख्नु चुनौतिपूर्ण कार्य हो । प्रतिकूल मौसम, दुर्गम क्षेत्र, यातायातको पहुँच नै नभएको, छ महिना त मानव समेत नबस्ने क्षेत्रमा सुरक्षा फौज राख्ने कार्यका लागि सरकारले विभिन्न तयारीहरु गर्नु पर्ने हुन्छ । प्रतिकूल मौसमका लागि आवश्यक पर्ने आवास, लत्ता कपडा र खाद्यान्नको ग्यारेन्टी गरिनु पर्दछ । सशस्त्रको बिओपी राखिने क्षेत्र दुर्गम र यातायातको पहुँचभन्दा बाहिर रहेकाले हिमपातको बेला समेत हेलिकोप्टर अवतरण गर्ने व्यवस्थासहित कम्तिमा पनि प्रदेशमा उद्धार, राहत र ढुवानीका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिनु पर्दछ ।