सोमबार दोब्बर नागरिकता वितरण ।

0
2402

जिल्ला प्रशासन कार्यालयले सोमबार अन्य दिनको भन्दा दोब्बर संख्यामा नागरिकता वितरण गरेको छ । कार्यालयले प्रवाह गर्ने प्रमुख सेवामध्ये नागरिकता वितरण कार्य महत्वपूर्ण मानिन्छ ।
अन्य दिनको तुलनामा सोमबार झण्डै दोब्बर संख्यामा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो । जेठ १ गतेदेखि १३ गतेसम्मको अवधिमा कम्तिमा ६ र बढीमा १७ वटा नागरिकता वितरण गरिएको प्रशासन कार्यालयको अभिलेख छ । सोमबार भने एउटै दिन ३१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।
कक्षा १० को परीक्षा दिएका युवाहरुले आजभोली नागरिकता बनाइरहेका छन् । कक्षा १० उत्तीर्ण गरेपछि प्राविधिक विषय पढन नेपाली नागरिकता चाहिने भएकाले नागरिकता बनाउनेको संख्या बढेको नागरिकता फाँटका कर्मचारी बताउँछन् ।
नेपाली सेनामा भर्ना खोलिएकाले पनि नागरिकता बनाउनेको चाप बढेको बुझाइ पनि छ । यसका साथै नागरिकता नबनाउदा मतदानबाट बञ्चित हुनुपरेकाले तत्काल नागरिकता बनाउन आउने पनि धेरै रहेको नायव सुब्बा सतिष साहको भनाई छ । जेष्ठ नागरिक र एकल महिलाहरुले सामाजिक सुरक्षा भत्ताका लागि पनि नागरिकता बनाइरहेका छन् ।
नयाँ नागरिकता र प्रतिलिपि गरी जेठ महिनाको १४ गतेसम्म १ सय ६५ नागरिकता वितरण गरिएको नागरिकता फाँट प्रमुख नासु सतिष साहले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा २ हजार ३ सय ४४ नेपाली नागरिकता प्रशासन कार्यालयबाट वितरण गरिएका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार हालसम्म दार्चुलाभरीका १ लाख १ हजार ९० जनालाई नेपाली नागरिकता दिइएको छ । यो प्रशासन कार्यालयको स्थापनादेखि २०७५ वैशाख मसान्तसम्मको अभिलेख हो । दार्चुलामा हालसम्म ७ सय १० जनाले वैवाहिक अंगिकृत नागरिकता पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here