स्थानीय तहको अनुभव आदानप्रदान कार्यक्रममा भारतको सहभागिता शुन्य

0
2065

दार्चुला, मंसिर २९ गते ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आयोजनामा भारतको पिथौरागढमा तीन दिनसम्म सञ्चालन भएको अनुभव आदानप्रदान कार्यक्रममा भारतको सहभागिता शुन्य देखिएको छ । पिथौरागढ जिल्ला मुख्यालयमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट एक दर्जन जनप्रतिनिधिहरु सहभागी भए पनि भारततर्फका जनप्रतिनिधिहरुको सहभागिता भएको छैन ।
इसिमोडले मंसिर २७ देखि २९ गतेसम्म जैविक विविधता व्यवस्थापन सम्बन्धि स्थानीय तहमा दुई देशबीच अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गरेको हो । दार्चुलाका अपिनाम्पा संरक्षण क्षेत्रमा पर्ने ६ वटा स्थानीय तहका सरकार प्रमुखसहितका एक दर्जन जनप्रतिनिधि सहभागी भएको उक्त कार्यक्रममा भारतका तर्फबाट भने एकजना पनि जनप्रतिनिधि सहभागी नभएको सहभागीले बताएका छन् ।
इसिमोडले पिथौरागढको कार्यक्रमका लागि स्थानीय तह र सरोकारवाला केही निकायलाई आमन्त्रण गरी मंसिर १८ गते पत्राचार गरेको थियो । महाकाली नगरपालिकाका प्रमुख तथा व्यास, दुहुँ, अपिहिमाल, मार्मा र नौगाड गाउँपालिकाका अध्यक्षहरु सहभागी भएको पिथौरागढको कार्यक्रममा भारतका तर्फबाट जनप्रतिनिधिहरुको सहभागिता नभएको अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिह ह्याकीले बताउनुभयो ।
भारतीय पक्षबाट पिथौरागढका डिएफओ, गोविन्दवल्लभ पन्त विश्वविद्यालयका प्रतिनिधि, वाइल्ड लाइफ इन्सिच्युट अफ इन्डियाका प्रतिनिधि र चिया संस्थाका प्रनिनिधिहरुको सहभागी रहेको अध्यक्ष ह्याकीले बताउनुभयो । अनुभव आदानप्रदान कार्यक्रममा जनप्रतिनिधिहरुका साथै परिषद् अध्यक्ष ह्याकी, परिषद् सदस्य भक्तसिह ठेकरे, वन डिभिजन कार्यालय दार्चुलाका सहायक वन अधिकृत अमरसिह धामीको सहभागिता थियो ।
अनुभव आदानप्रदान कार्यक्रम भनिए पनि भारततर्फका जनप्रतिनिधिहरुको सहभागिता नभएकोमा नेपालका जनप्रतिनिधिहरुले असन्तुष्टि व्यक्त गरेका छन् । ‘कार्यक्रममा हामीलाई बोलाइयो, तर भारतबाट जनप्रतिनिधिहरुको सहभागिता देखिएन’ महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले भन्नुभयो, ‘दुबै देशका जनप्रतिनिधिहरुबीच अनुभव आदानप्रदान हुन पाए कार्यक्रम फलदायी हुन्थ्यो ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपपिया र प्रदेश वन मन्त्रालयका एकजना उपसचिव पनि पिथौरागढको कार्यक्रममा सहभागी थिए । बझाङ र हुम्ला जिल्लाबाट समेत गाउँपालिका उपाध्यक्ष र केही वडा अध्यक्षहरुको सहभागिता गराइएको थियो ।
नेपालबाट कार्यक्रममा सहभागी गराइदा ठूलो महत्व देखाइए पनि कार्यक्रम उपलब्धिमूलक हुन नसकेको अधिकांश सहभागीहरुको प्रतिक्रिया छ । ‘कार्यक्रमको व्यवस्थापन प्रभावकारी देखिएन, सहभागिता पनि सन्तोषजनक रहेन’ अपिहिमाल गाउँपालिका अध्यक्ष डिएन घाजिरेलले भन्नुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा पिथौरागढका डिएफओलाई प्रमुख अतिथि बनाइएको थियो । जनप्रतिनिधिहरुको मर्यादाक्रम समेत ख्याल नगरिएको एक सहभागीको प्रतिक्रिया छ । ‘पिथौरागढका डिएफओपछि महाकाली नगरप्रमुखलाई आसनग्रहण गराइयो, गाउँपालिका अध्यक्षहरुलाई सम्बोधनसम्म गरिएन’ कार्यक्रममा सहभागी ती व्यक्तिको भनाई छ ।
कार्यक्रमको सहभागिता र व्यवस्थापनबारे अपिहिमाल गाउँपालिका अध्यक्षले कार्यक्रममै गुनासो राखेको अर्का सहभागीको भनाई छ । ‘नेपालतर्फबाट उपसचिवस्तरका कर्मचारीको सहभागी हुँदा पनि मर्यादाक्रम जस्तो विषयमा ख्याल नपुर्याएकोमा गुनासो गरिएको थियो’ ती सहभागीले भन्नुभयो, ‘कार्यक्रमका लागि कर्मचारी र आयोजकको तयारी नपुगेकोमा अपिहिमाल गाउँपालिका अध्यक्षजीले गुनासो गर्नुभएको हो ।’
इसिमोडका प्रतिनिधि कमला गुरुङले पिथौरागढको कार्यक्रममा सहभागिताबारे आफुलाई विस्तृत थाहा नभएको बताउनुभयो । आफु काठमाण्डौमा रहेकोले कोकस्को सहभागिता रह्यो भन्ने जानकारी नभएको उहाँको प्रतिक्रिया छ ।
वार्डेनले महत्व दिएनन्
इसिमोडले आयोजना गरेको पिथौरागढको कार्यक्रमलाई अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अशोककुमार मेहताले भने महत्व दिएका छैनन् । आफुलाई कार्यक्रममा सहभागिताबारे औपचारिक जानकारी नभएको उहाँले बताउनुभयो ।
‘प्रमुख संरक्षण अधिकृतले सहभागी हुनुपर्ने कार्यक्रम भएमा हामीभन्दा माथिल्लो तहबाट जानकारी र स्वीकृति हुनुपर्छ’ वार्डेन मेहताले भन्नुभयो, ‘कार्यक्रमबारे हामीलाई औपचारिक जानकारी छैन ।’ आयोजक संस्था इसिमोडले अपिनाम्पा संरक्षण क्षेत्रको व्यवस्थापन परिषद्लाई भने पत्राचार गरी अध्यक्षसहित दुईजनाको सहभागिताका लागि अनुरोध गरेको थियो । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई भने इसिमोड र विभाग वा मन्त्रालयबाट यसबारे कुनै पत्राचार नभएको प्रमुख संरक्षण अधिकृत महतोको भनाई छ ।
‘पिथौरागढमा कार्यक्रम छ, जाऔं भन्ने मौखिक प्रस्ताव आयो, तर औपचारिक जानकारी नभएकोले म गईन’ उहाँले भन्नुभयो, ‘मैले सहभागी हुनैपर्ने महत्वको कार्यक्रम पनि लागेन, मैले अनिवार्य जानैपर्ने कार्यक्रम थियो भने विभाग र मन्त्रालयबाट निर्देशन आउथ्यो ।’
इसिमोडले अंग्रेजी वर्षको अन्तिममा दुईचारवटा बैठक र भेटघाट कार्यक्रम मात्रै गर्दैआएको छ । सन् २०१८ को अन्तिम महिनामा पनि यस्तै बैठकका कार्यक्रम आयोजना गरिएका थिए । यो वर्षको अन्तिम महिना डिसेम्बरमा पनि मंसिर १२ गते जिल्ला समन्वय समितिमा छलफल कार्यक्रम आयोजना गरेको थियो । मंसिर १५ देखि १९ गतेसम्म व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा ५ दिने तालिम सञ्चालन गरेको छ भने मंसिर २० गते खलंगामा अन्तरक्रिया गरेको छ । लगत्तै पिथौरागढमा कार्यक्रम गरेर आफ्नो क्रियासिलतामा देखाउन खोजेको छ ।
‘बैठक र अन्तरक्रिया मात्र आयोजना नगरी संरक्षणको क्षेत्रमा परिणाम देखिने गरी काम गर्न आफुले इसिमोडका प्रतिनिधिहरुलाई आग्रह गरेको’ प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताउनुभयो, ‘तर उहाँहरुको गतिविधि बैठक र अन्तरक्रियामा मात्र सीमित देखिन्छन् ।’
पिथौरागढको कार्यक्रम विदेशी भूमिमा आयोजना गरिएकोले विभाग र मन्त्रालयको स्वीकृतिविना आफुले सहभागिता जनाउन नसकेको पनि उहाँको भनाई छ । पिथौरागढको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरु र अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिह ह्याकीले पनि कार्यक्रम उपलब्धि हुन नसकेको प्रतिक्रिया दिएका छन् ।