स्थानीय तहको लेखा कस्दै सरकार

2196

दार्चुला, माघ १९ गते ।
स्थानीय तहको लेखा व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन नेपाल सरकारले पहल गरिरहेको छ । स्थानीय तहमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) कार्यान्वयनमा ल्याइएको छ । स्थानीय तहको दैनिक आयव्ययको अवस्था अनलाइनमार्फत निगरानी गर्न सकिने गरी सुत्र प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
नेपाल सरकारले गत वैशाख महिनामै देशभरका स्थानीय तहहरुमा सुत्र प्रणाली लागू गर्ने निर्णय गरेको थियो । तर इन्टरनेटको सुविधा, जनशक्ति र तालिम अभावको नाममा सुत्र प्रणाली कार्यान्वयन गर्न ढिलाइ भइरहेको थियो । पछिल्लो समय दार्चुलाका नौवटै स्थानीय तहमा सुत्र प्रणाली कार्यान्वयन गरिएको कोलेनिका दार्चुलाका प्रमुख भुपालसिह कार्कीले बताउनुभयो ।
गत आर्थिक वर्षमा खर्च हुन नसकेको सशर्त अनुदान रकम दाखिलामा स्थानीय तहहरुले आनाकानी गरेपछि चालु वर्षको पहिलो किस्ता नै कोलेनिकाले रोकेको थियो । गतवर्षको अनुदान दाखिला गराएपछि मात्रै यसवर्षको पहिलो किस्ता निकासा गरिएको कोष नियन्त्रक कार्कीले बताउनुभयो ।
चालु वर्षको दोस्रो किस्ताको रकम सुत्र प्रणाली कार्यान्वयनमा ल्याएपछि मात्रै निकासा गरिएको उहाँको भनाई छ । ‘स्थानीय तहहरुको लेखा प्रणालीलाई व्यवस्थित बनाउने प्रयास भइरहेको छ’ कार्कीले भन्नुभयो ।
स्थानीय तहहरुको आन्तरिक आम्दानी, चालु र पूजीगत क्षेत्रमा भइरहेको दैनिक खर्च आदि सबै आर्थिक विवरण सुत्र प्रणालीमा अनलाइन हेर्न सकिन्छ । स्थानीय तहहरुको बजेट विनियोजनदेखि खर्चको सबै विवरण सुत्र प्रणालीमा राखिएकोले आर्थिक पारदर्शीता र अनुशासनमा योगदान पुग्ने कोलेनिका दार्चुलाका सुचना अधिकारी इन्द्र सिंह धामीले बताउनुभयो । ‘स्थानीय तहको कुन शीर्षक र क्षेत्रको बजेट खर्चको अवस्था कस्तो भन्नेबारे सुत्र प्रणालीमार्फत दैनिक हेर्न सकिने’ उहाँको भनाई छ ।
स्थानीय तहको आर्थिक प्रगति प्रतिवेदन पनि कोलेनिकामा बुझाउनुपर्ने व्यवस्था छ । स्थानीय तहबाट प्रतिवेदन पेश भएपछि मात्रै निकासा दिने गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !