स्थानीय तहमा आधा बजेट निकासा

0
1992

दार्चुला, माघ १७ गते ।
चालु आर्थिक वर्षका लागि विनियोजितमध्ये आधा बजेट स्थानीय तहहरुमा निकासा गरिएको छ । दार्चुलाका सबै स्थानीय तहहरुमा दोस्रो किस्ता बजेट निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) कार्यान्वयन गराएर मात्रै स्थानीय तहहरुमा दोस्रो किस्ता निकासा दिइएको कोष नियन्त्रक भूपालसिह कार्कीले बताउनुभयो । ‘केन्द्रदेखि सुत्र कार्यान्वयन गराउनका लागि निर्देशन प्राप्त भएकाले सबै स्थानीय तहहरुमा कार्यान्वयन गराइएको’ उहाँले बताउनुभयो । देशभरका सबै स्थानीय तहहरुमा सुत्र प्रणाली अनिवार्य कार्यान्वयनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ८ गते पनि सर्कुलर गरेको छ ।
स्थानीय तहहरुको दोस्रो किस्ता निकासा मंसिर, पुष र माघको पहिलो हप्तासम्म गरिएको छ । ‘सुत्र प्रणाली कार्यान्वयन गरेर दोस्रो किस्ता निकासाको माग गर्ने स्थानीय तहलाई तत्काल निकासा गरिएको’ कोलेनिका दार्चुलाका सुचना अधिकारी इन्द्र सिंह धामीले बताउनुभयो ।
शैल्यशिखर नगरपालिका तथा नौगाड, दुहुँ, व्यास र अपिहिमाल गाउँपालिकाले मंसिर ८ गते दोस्रो किस्ता निकासा पाएका छन् । नौगाड गाउँपालिकाको दोस्रो किस्तामा २ करोड ५१ लाख ७५ हजार वित्तिय समानिकरण अनुदान र ६ करोड १५ लाख ८ हजार सशर्त अनुदान निकासा भएको छ ।
दुहुँ गाउँपालिकामा २ करोड ८५ लाख ६६ हजार वित्तिय समानिकरण र ५ करोड ९० लाख ९९ हजार रुपैयाँ सशर्त अनुदानको बजेट दोस्रो किस्ता निकासा भएको छ । अपिहिमाल गाउँपालिकामा वित्तिय समानिकरण १ करोड ६५ लाख २५ हजार र सशर्त अनुदान ३ करोड ९७ लाख २५ हजार दोस्रो किस्ता निकासा भएको छ ।
व्यास गाउँपालिकामा मंसिर ९ गते दोस्रो किस्ता निकासा गरिएको अभिलेख छ । व्यासमा २ करोड ८ लाख २५ हजार वित्तिय समानिकरण र ५ करोड १८ लाख ५८ हजार सशर्त अनुदानको बजेट दोस्रो किस्तावाफत निकासा गरिएको छ ।
शैल्यशिखर नगरपालिकामा ४ करोड ३७ लाख ३० हजार वित्तिय समानिकरण र १० करोड ३८ लाख ९० हजार सशर्त अनुदानको दोस्रो किस्ता मंसिर २३ गते निकासा दिइएको कोलेनिकाले जनाएको छ ।
मार्मा र मालिकार्जुन गाउँपालिकामा पुष महिनामा दोस्रो किस्ता निकासा गरिएको छ । मालिकार्जुनमा पुष ३ गते दोस्रो किस्ताको २ करोड ६३ लाख वित्तिय समानिकरण र ७ करोड ८२ लाख सशर्त अनुदान निकासा भएको छ । मार्मामा पुष १६ गते २ करोड ५४ लाख २५ हजार वित्तिय समानिकरण र ६ करोड ७० लाख ५८ हजार सशर्त अनुदान दोस्रो किस्तामा दिइएको छ ।
महाकाली नगरपालिकामा पुष २७ गते वित्तिय समानिकरणको ३ करोड ३२ लाख र सशर्त अनुदानको ७ करोड २३ लाख १८ हजार बजेट दोस्रो किस्तामा निकासा गरिएको छ । लेकम गाउँपालिकामा सबैभन्दा अन्तिममा माघ २ गते ३ करोड ३६ लाख ३३ हजार वित्तिय समानिकरण र ३ करोड ७७ लाख ६६ हजार सशर्त अनुदानको दोस्रो किस्ता निकासा दिइएको कोलेनिका दार्चुलाले जनाएको छ ।
स्थानीय तहहरुमा वित्तिय समानिकरण अनुदानको पहिलो किस्ता साउनमा, दोस्रो किस्ता कार्तिकमा, तेस्रो किस्ता माघमा र चौथो किस्ता चैत्रमा निकासा गर्नुपर्ने व्यवस्था छ । तर स्थानीय तहहरुले रिपोर्टिङमा र सुत्र प्रणाली कार्यान्वयनमा ढिलाइ गर्दा पहिलो र दोस्रो किस्ताको निकासामा ढिलाइ भएको कोलेनिका दार्चुलाका सुचना अधिकारी इन्द्र सिंह धामीले बताउनुभयो । सशर्त अनुदानको रकम चौमासिक निकासा हुने व्यवस्था भए पनि स्थानीय तहहरुमा वित्तिय समानिकरणसंगै निकासा गरिएको छ ।
पहिलो किस्ता निकासा असोजमा
दार्चुलाका स्थानीय तहहरुको नेपाल सरकारले चालु वर्ष उपलब्ध गराउने बजेटको पहिलो किस्ता असोज महिनामा निकासा गरिएको थियो । साउन १ गते नै पहिलो किस्ता निकासा गर्नुपर्ने व्यवस्था भए पनि स्थानीय तहहरुको आर्थिक विवरण प्राप्त नभएकाले निकासामा ढिलाइ भएको कोलेनिकाले जनाएको छ ।
नौगाड, दुहुँ र मार्मा गाउँपालिकाले असोज ८ गते पहिलो किस्ता निकासा पाएको अभिलेख छ । नौगाडले पहिलो किस्तामा २ करोड ५१ लाख ७५ हजार वित्तिय समानिकरण र ६ करोड ४४ लाख ७ हजार सशर्त अनुदान पाएको छ ।
दुहुँ गाउँपालिकाले २ करोड ८५ लाख ६६ हजार वित्तिय समानिकरण र ६ करोड ९ लाख ६५ हजार सशर्त अनुदान पाएको छ । मार्माले २ करोड ५४ लाख २५ हजार वित्तिय समानिकरण र ६ करोड ७० लाख ५८ हजार सशर्त अनुदानको पहिलो किस्ता पाएको छ ।
व्यास र लेकम गाउँपालिकाले असोज ९ गते पहिलो किस्ताको रकम निकासा पाएका थिए । व्यासमा २ करोड ८ लाख २५ हजार वित्तिय समानिकरण र ५ करोड ३६ लाख ९० हजार सशर्त अनुदान छ भने लेकममा ३ करोड ३६ लाख ३३ हजार वित्तिय समानिकरण र ७ करोड १३ लाख ९९ हजार सशर्त अनुदानको किस्ता छ ।
असोज १० गते पहिलो किस्ता निकासा गरिएको अपिहिमाल गाउँपालिकामा १ करोड ६५ लाख २५ हजार वित्तिय समानिकरण र ४ करोड ११ लाख ९१ हजार सशर्त अनुदान छ ।
मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिकामा असोज १४ गते पहिलो किस्ता निकासा गरिएको अभिलेख छ । मालिकार्जुनमा २ करोड ६३ लाख वित्तिय समानिकरण र ८ करोड १७ लाख ३२ हजार सशर्त अनुदानको किस्ता छ ।
शैल्यशिखर नगरपालिकामा ४ करोड ३७ लाख ३० हजार वित्तिय समानिकरण र १० करोड ५८ लाख २९ हजार सशर्त अनुदान छ । महाकाली नगरपालिकामा ३ करोड ३२ लाख वित्तिय समानिकरण र १० करोड २८ लाख ६६ हजार सशर्त अनुदान छ ।
वित्तिय समानिकरण अनुदान स्थानीय तहहरुले आफ्नो योजना, कार्यक्रम र प्राथमिकताअनुसार खर्च गर्न पाउने बजेट हो । सशर्त अनुदान भने नेपाल सरकारले नै निर्धारण गरेका कार्यक्रम र शीर्षकमा खर्च गर्नुपर्ने व्यवस्था छ । शिक्षक, कर्मचारीको तलबभत्ता समेत सशर्त अनुदानअन्तर्गत राखिएकोले वित्तिय समानिकरण अनुदानको तुलनामा सशर्त अनुदानको मात्रा बढी देखिने गरेको छ ।