हत्याको आशंकमा ‘सोधपुछ’का लागि एक महिलासहित चारजना प्रहरी नियन्त्रणमा

0
2639

दार्चुला, भदौ १० गते ।
भदौ ४ गते राती आफ्नै घरमा मृत भेटिएका गुल्जर स्वास्थ्य चौकीका कार्यालय सहयोगी अंगिरसिँह ठगुन्नाको हत्याको आशंमा प्रहरीले ‘गहिरो अनुसन्धान’ थालेको छ । अनुसन्धानकै क्रममा एक महिलासहित चारजनालाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको स्रोतले बतायो ।
प्रहरीले मार्मा गाउँपालिका वडा नम्बर १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्नालाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । दार्चुला प्रहरीले घटनाको ‘गहिरो अनुसन्धान’ भइरहेको बताउदै केही व्यक्तिसंग ‘सोधपुछ’ भइरहेको बताएको छ ।
‘घटनाको गम्भीर रुपमा अनुसन्धान थालेका छौ, अनुसन्धानको क्रममा केही व्यक्तिसंग सोधपुछ भइरहेको छ’ दार्चुला प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले भन्नुभयो । ‘सोधपुछ र अनुसन्धानबाट कैफियत देखिए मुद्दा प्रक्रिया अघि बढाइनेछ’ उहाँले भन्नुभयो ।
ठगुन्नाको शङ्कास्पद मृत्यु भएको ६ दिनपछि अनुसन्धानको लागि प्रहरीले सोधपुछ गर्न भन्दै ४ जनालाई नियन्त्रणमा लिएको मार्मा गाँउपालिका वडा नम्बर १ गुल्जरका एक स्थानीयले बताए । प्रहरीले सोधपुछका लागि समातेका मध्ये गणेश र देवकी श्रीमान् श्रीमती हुन् भने करन दुबैजनाका भतिजा पर्दछन् । समातिएका अर्का व्यक्ति धर्मसिह धामी स्थानीय बाख्रा व्यवसायी समेत रहेको स्थानीयले बताएका छन् । घटनाको पृष्ठभूमि र घटनास्थलको अवस्थाका आधारमा प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले स्रोतले बतायो ।
‘शङ्कास्पद मृत्युको बारेमा अनुसन्धान चलिरहेको र अनुसन्धानका क्रममा रहेका सबै कुरा सार्वजनिक गर्न नमिल्ने’ निमित्त प्रहरी प्रमुख बोहराको भनाई छ । ‘अनुसन्धान थालेका छौ, सबै कुरा अनुसन्धापछि सार्वजनिक गर्छौ’ उहाँले भन्नुभयो ।
भदौ ४ गते राती पैसाको लोभमा अंगीरसिह ठगुन्नाको हत्या भएको आशंका गरिएको छ । मृतकको घरभित्रको दराजमा साढे ९ लाख रुपैयाँ फेला परेका छन् । धनगढीमा जमिन किन्नका लागि ठगुन्नाले रकम संकलन गरेको आफन्तजनले बताएका छन् ।
आफ्नै घरभित्र मृत फेला परेका ठगुन्नाको टाउकोमा धारिलो हतियारका घाउ समेत भेटिएका थिए । भदौ ५ गते विहानै इलाका प्रहरी कार्यालय लटिनाथ र गोकुलेश्वर तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा तीन दर्जनभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी प्रहरीले घटनाको स्थलगत अनुसन्धान गरिरहेको जिप्रका स्रोतले बतायो । ‘हत्याको प्रकृति देखिएकाले गम्भीर रुपमा प्रहरीले अनुसन्धान थालेको छ’ प्रहरी स्रोतको भनाई छ ।
भदौ ६ गते गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरी ठगुन्नाको दाहसंस्कार गरिएको छ ।