हिमपातले सीमा सुरक्षामा कठिनाइ

0
2219

दार्चुला, पुष २६ गते ।
त्रिदेशीय सीमाक्षेत्र रहेको भारतको पिथौरागढ जिल्लाको उच्चक्षेत्रमा हिमपात हुँदा सीमा सुरक्षामा कठिनाइ भएको छ । धारचुला तहसिलअन्तर्गतको उच्चभेगमा हिमपात हुँदा भारतीय सुरक्षाकर्मीलाई नियमित गस्ती गर्न कठिनाइ भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एक हप्तादेखि हरेक दिन हिमपात भइरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । सीमा सुरक्षाका लागि उच्चक्षेत्रमा राखिएका भारतीय सुरक्षाकर्मीलाई हिमपातले कठिनाइ भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । सीमाक्षेत्रमा नियमित गस्तीको कार्य रस्सीको सहारामा भइरहेको जनाइएको छ ।
चीनसंगको सीमा सुरक्षाका लागि भारत तिब्बत सीमा पुलिस (आइटिविपी) परिचालन गरिएको छ । आइविपीको फौजले नियमित गस्ती गर्नुका साथै हिमपातले ढाकिएको पैदलबाटो समेत खोलिरहेको समाचार छ । सुरक्षाकर्मीका व्यारेक भवन हिउले ढाकिए पनि हरेक दिन सुरक्षाकर्मीले भवनको छतबाट हिउ हटाउदैआएका छन् ।
आइटिविपी सुत्रलाई उल्लेख गर्दै भारतीय पत्रिका अमर उजालाले कुटीमा ६५ सेन्टिमिटर बाक्लो हिउ परेको जनाएको छ । यसैगरी चीनसंगको नाका जोडिएको नाभिढाग क्षेत्रमा १ सय सेन्टिमिटर, कालापानीमा ७० सेन्टिमिटर र गुञ्जीमा ३५ सेन्टिमिटर बाक्लो हिमपात भएको छ । छियालेखमा ३० सेन्टिमिटर तथा गव्र्याङमा १० सेन्टिमिटर बाक्लो हिउ जमेको भारतीय सुरक्षा स्रोतलाई उल्लेख गरी समाचारमा लेखिएको छ ।
कुटी गाँउको तापक्रम माइनस १७ डिग्री पुगेको जनाइएको छ । कुटी भारतको अन्तिम वस्ती हो । दुई दिनअघि कालापानीमा माइनस १३ डिग्रि, गुञ्जीमा माइनस १० डिग्रि र छियालेकमा माइनस ८ डिग्रि तापक्रम मापन गरिएको छ ।
अन्तर्राष्ट्रिय सीमा रहेको यसक्षेत्रमा भारत तिब्बत सीमा पुलिस (आइटिविपी) का सातवटा सुरक्षा पोष्ट राखिएका छन् । नेपालसंगको सीमाक्षेत्रमा भने सशस्त्र सीमा वल (एसएसवी) राखिएका छन् ।