हिमाल दर्शन–४ अपरेशन सुन्सेरामा

2268

दार्चुला, फागुन २८ गते ।
नेपाली सेनाले ४ दिनअघि सुरु गरेको हिमाल दर्शन–४ अपरेशन टोली व्यास गाँउपालिकाको केन्द्र सुन्सेरा क्षेत्रमा पुगेको छ । फागुन २५ देखि सुरु भएको अपरेशन २० दिनसम्म सञ्चालन गरिने नेपाली सेनाको दुर्गादल गुल्मले जनाएको छ ।
सदरमुकाम खलंगाबाट शनिवार हिडेको सेनाको अपरेशन टोली सोमबार साँझा सुन्सेरा पुगेको स्थानीय पत्रकार मानसिह कुवरले बताएका छन् । मंगलवार सेनाको टोली सुन्सेराबाट अगाडि दुम्लिङतर्फ हिडेको छ ।
त्रिदेशीय सीमाक्षेत्रमा सेनाले लामो सुरक्षा गस्ती थालेको हो । सेनाले यो सुरक्षा गस्तीलाई हिमाल दर्शन नाम दिएको छ । २०७० सालदेखि नेपाली सेनाले अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा सुरक्षा गस्ती गर्दैआएको छ । नियमित सुरक्षा गस्तीअन्तर्गत सेनाले हिमाल दर्शन अपरेशन थालेको गुल्मपति गणेश रावलले बताउनुभयो ।
गत वर्षको फागुन २८ गते यस्तो अपरेशन थालिएको थियो । गतवर्ष महाकाली नदीमा भारतीय पक्षले एकतर्फी रुपमा काठेपुल राखेको समाचार आएपछि सेनाले गस्ती गरेको थियो ।
चैत्र १५ गतेसम्म सञ्चालन हुने हिमाल दर्शन–४ अपरेशनअन्तर्गत व्यास क्षेत्रको छाङरु र तिंकरसम्म टोली पुग्ने गुल्मपति रावलले बताउनुभयो । तर बाक्लो हिमपातका कारण सैन्य अपरेशन टोली माथिल्लो क्षेत्रसम्म पुग्न चुनौती रहेको छ ।
महाकाली नदी किनारैकिनार कम्तिमा व्यासको छाङरुसम्म सेनाको अपरेशन टोली पुग्ने लक्ष्य रहेको स्रोतले बतायो । गतवर्ष सैनिक टोलीले सीमाक्षेत्रमा गस्ती गरिरहदा सुदुरपश्चिम पृतनापति झंकरवहादुर कठायतले हेलिकोप्टरमार्फत व्यासको छाङरुमा भ्रमण गरेका थिए ।
यस पटक सेनाले दार्चुलाको सीमाक्षेत्रमा हिमाल अपरेशन चलाइरहदा प्रधान सेनापतिले हेलिकोप्टरमार्फत दार्चुलाको निरीक्षण भ्रमण गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !