छिपुलथानमा पर्यटन पूर्वाधारको विकास गरिने ।

0
1254

नौगाड गाँउपालिका अध्यक्ष प्रेमसिह धामीले नौगाड गाँउपालिकाको वडा नम्बर २ मा रहेको छिपुलथान क्षेत्रमा पर्यटन पूर्वाधारको विकास गरिने बताएका छन् । खारको दल्लेख नजिकैको छिपुलथान क्षेत्रमा आज भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष धामीले यस्तो बताएका हुन् ।
सामुदायिक वन र छिपला केदार मन्दिर रहेको यस क्षेत्रमा पर्यटन विकासको धेरै सम्भावना रहेको सहभागीहरुले बताएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन आइतवार छिपुलथान पुगेका सयौं सहभागीले पर्यटन विकासको सम्भावना औल्याएका हुन् ।
प्राकृतिक सुन्दरता र धार्मिक महत्वको क्षेत्र भएकाले छिपुलथानको पर्यटकीय सम्भावना धेरै भएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो ।
छिपुलथान क्षेत्रको पर्यटकीय विकासको सम्भावनाबारे अध्ययन गरी पूर्वाधारको विकास गर्नुपर्ने नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीको भनाई छ । दार्चुला सदरमुकामबाट नजिकको क्षेत्र रहेकाले यसको महत्व र सम्भावना धेरै भएको उहाँले बताउनुभयो ।
छिपुलथान क्षेत्रको विकासका लागि स्थानीयवासीले समेत माग गरेकाले गाँउपालिकाले उच्च प्राथमिकता दिएको नौगाड गाँउपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै छिपुलथान क्षेत्रमा रहेको छिपला केदार मन्दिर परिसरको व्यवस्थापन र संरचना निर्माणका लागि १२ लाख रुपैयाँ बजेट दिइएको प्रमुख प्रशासकीय अधिकृत मोहनसिह धामीले बताउनुभयो ।
खारको दल्लेखबाट करिब ३ किलोमिटरको दूरीमा रहेको छिपुलथान क्षेत्रमा लामो समयदेखि वनजंगलको संरक्षण गरिएको छ । वनजंगलको मध्यभागमा मैदानी क्षेत्र भएकोले प्राकृतिक दृश्यालोकन र धार्मिक महत्वले पर्यटकीय सम्भावना रहेको नौगाड गाँउपालिका वडा नम्बर २ का वडाअध्यक्ष ठगुन्नाले बताउनुभयो ।
रमणिय र एकान्त ठाँउ भएको र हिउदको बेला हिमपात हुने क्षेत्र भएकाले दार्चुला सदरमुकामबाट नजिकको ठाँउ भएका कारण हिउ खेल्नेहरुको आकर्षण गन्तव्य बन्नसक्ने पत्रकार नरेन्द्रसिह कार्कीको भनाई छ ।
छिपलुथान क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माण गरी प्रचार प्रसार गर्नुपर्ने मिडिया विकास समाज नेपाल दार्चुलाका उपाध्यक्ष प्रतापसिह ठगुन्नाको भनाई छ । आगामी वर्ष पर्यटन पूर्वाधारका संरचना निर्माण गरिने र पर्यटकीय विकासका लागि थप कार्यक्रम समेत सञ्चालन गरिने नौगाड गाँउपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभएको छ ।
छिपुलथान क्षेत्रमा गेस्टहाउस र तालिम केन्द्रको संरचना बनाएर सदरमुकाम क्षेत्रका कार्यक्रम र मान्छेलाई आकर्षिक गर्न सकिने दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्ना बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here