‘जिलेटिन व्यवस्था गर्न’ महिनै पिच्छे काज ।

1578

दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र साहले ‘जिलेटिनको व्यवस्थापन गर्न’ भन्दै महिनैपिच्छे विभाग र मन्त्रालयमा काज भ्रमण गरेका छन् । करिब तीन वर्षदेखि जिलेटिन अभावमा तिंकर सडक निर्माण नै बन्द भएको छ । जिलेटिन व्यवस्थापन गर्न विभाग र मन्त्रालयमा काज धाउनुपरेको साहले बताउनुभयो ।
पूर्व सम्झौताअनुसार नेपाली सेनाबाट विस्फोटक पदार्थ उपलब्ध नभएपछि यसको व्यवस्थापनका लागि लामो समय लागेको हो । गत चैत्र महिनादेखि वैकल्पिक व्यवस्थाको प्रयास भइरहेको योजना प्रमुख साहले बताउनुभयो ।
२०७४ असोज २९ देखि योजना प्रमुखको जिम्मेवारी सम्हालेका साहले मंसिरदेखि वैशाखसम्म महिनापिच्छे विभागमा काज भ्रमण गरेका छन् । कार्तिक महिनाभरी भने योजना कार्यालयमै साहको उपस्थिति रहेको अभिलेख छ ।
२०७४ मंसिर महिनामा दुइपटक गरी १३ दिन योजना प्रमुख साहले काज भ्रमण गरेका छन् । त्यस्तै पुष महिनामा ७ दिन र माघ महिनामा दुइपटक गरी १४ दिन सडक विभागमा काज भ्रमण गरेको अभिलेख छ । फागुन महिनामा दुइपटक गरी १४ दिन र चैत्र महिनामा एक हप्तासम्म योजना प्रमुख रामचन्द्र साहले काज भ्रमण गरेको कार्यालयको अभिलेख छ ।
पछिल्लो वैशाख २१ देखि लगातार एक महिनासम्म विभाग र मन्त्रालयको काज भ्रमणमै आफु रहेको योजना प्रमुख साहले बताउनुभयो । ‘सडक निर्माणका लागि जिलेटिनको व्यवस्थापन गर्न यति धेरै पटक सडक विभाग र विषयगत मन्त्रालयमा धाउनुपरेको’ उहाँले जानकारी दिनुभयो ।
विभाग, मन्त्रालय र सरोकारवाला पक्षसंग समन्वय गर्न र आवश्यक प्रक्रिया पूरा गर्न लामो समय लागेको योजना प्रमुखको भनाई छ । विभाग, विषयगत मन्त्रालयका साथै गृह र रक्षा मन्त्रालय तथा नेपाली सेनाको सम्बन्धित निर्देशनालयसंग समन्वय गर्नुपर्ने भएकाले धेरै समय भ्रमण गर्नुपरेको उहाँले बताउनुभयो ।
लामो समयदेखि रोकिएको जिलेटिन आपुर्तिको विषयमा पछिल्लो समय भने उपलब्धि हुन लागेको योजना प्रमुख साहले जानकारी दिनुभयो । बझाङ जिल्लामा निर्माणाधिन कालाङगाड जलविद्युत आयोजनाको निर्माणमा संलग्न नीजि कम्पनीबाट सापटीमा १० हजार किलोग्राम जिलेटिन ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । केही दिनभित्रै यसबारे नीजि कम्पनी, नेपाली सेना र दार्चुला तिंकर सडक योजनाबीच सम्झौता हुन लागेको योजना प्रमुख साह बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !