कैलाश यात्राको नाममा काठेपुल तर यात्रु हेलिकोप्टरबाट ।

5188

भारतीय पक्षले नेपाल सरकारसंग कैलाश मानसरोवर यात्रा सहज रुपमा सञ्चालन गर्न भन्दै महाकालीमा काठेपुल राख्न माग गरेको थियो । भारतले हरेक वर्ष जुन महिनादेखि कैलाश मानसरोवर यात्रा सञ्चालन गर्दै आएको छ । आफ्नो क्षेत्रमा सडक निर्माणका कारण पैदलमार्ग क्षतिग्रस्त भएकाले केही नेपाली भूगोल भएर यात्रा सञ्चालन गर्न भारतले अनुरोध गरेको थियो ।
भारतको प्रस्तावअनुसार महाकाली नदीमा लखनपुर–तम्बाकु र नजङ–थिई भीरको फेदमा काठेपुल राखिएका थिए । गृहमन्त्रीस्तरीय निर्णय गर्दै चैत्र १५ गते नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत काठेपुलको स्वीकृति दिएको थियो ।
कैलाश यात्राका लागि काठेपुल निर्माण र नेपाली भूभागको बाटो प्रयोग हुने भनिए पनि पछिल्लो समय हेलिकोप्टरमार्फत कैलाश मानसरोवरका यात्रीलाई सुविधा दिइने तयारी छ । कैलाश यात्राको व्यवस्थापन गर्दैआएको उत्तराखण्ड सरकारको कुमाउँ मण्डल विकास निमगले हेलिकोप्टर सेवामार्फत कैलाश यात्रा गराउने तयारी गरेको छ ।
पिथौरागढबाट कैलाश यात्रुलाई हेलिकोप्टरमार्फत गुञ्जीसम्म सेवा दिइनेछ । गुञ्जीबाट नाभिढाङ, लिपुलेक हुँदै कैलाश यात्री पैदल हिड्नेछन् । भारतको विदेश मन्त्रालयसहित अन्य निकायले हेलिकोप्टर सेवा सञ्चालनको तयारी गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
काठेपुल सञ्चालनबाट कैलाश यात्रा नभए पनि नेपाल र भारतको सीमावर्ती क्षेत्रका नागरिक भने लाभान्वित भएका छन् । नेपालको व्यास क्षेत्र तथा व्यासको सीमावर्ती भारतीय भूभागका नागरिकले काठेपुल र नेपाली भूभागको बाटो प्रयोग गरी आवागमन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !