महाकाली लोकमार्ग खुल्यो

0
5094

महाकाली लोकमार्ग ३ दिन पश्चात् सुचारु भएको छ । निरन्तर वर्षाका कारण सोमाबार राती महाकाली लोकमार्ग अन्तरगत पहिरो खस्दा अबरुद्ध सडक बुधवार दिउँसो करिब साडे तीन बजेतिर सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
महाकाली लोकमार्ग अन्तरगत मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ तेर्छालेक भन्ने स्थानमा ठुलो पहिरो खस्दा महाकाली लोकमार्ग अबरुद्ध भएको थियो । दार्चुला जिल्लामा ठुलो पहिरो पन्छ्याउने डोजर नहुदाँ बैतडीबाट डोजर ल्याएर पहिरो हटाई सडक सुचारु गरिएको हो । सडक डिभीजन कार्यालय पाटन बैतडीबाट मंगलवार साँझ डोजर ल्याएर पहिरो हटाई बुधवार दिउँसो साडे तीन बजेतिर सडक खुलाइएसंगै बीचबाटोमै रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन आ–आफ्नो गन्तब्य तिर लागेका छन् ।
जिल्लामा भएको सानो डोजरबाट पहिरो हटाउन सम्भव नभएपछि सडक डिभीजन कार्यालय पाटन बैतडीबाट डोजर ल्याई पहिरो पन्छ्याइएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध हुदाँ मुख्य गरी लामो दुरीका सवारी साधनहरु सञ्चालनमा समस्या आएको थियो । गोकुलेश्वर– खलंगा सडक खण्ड अन्तरगत तेर्छालेक भन्ने स्थानमा ठुलो पहिरो खस्दा उक्त पहिरो हटाउने डोजर नहुदाँ ३ दिनपश्चात् मात्रै सडक खुलाउन सकिएको हो । दार्चुला जिल्लामै ठुलो पहिरो हटाउने डोजर भइदिएको भए ३÷४ घण्टामै सडक खुलाउन सकिने एक जीप चालकले बताउनु भयो ।
वर्षात्को समयमा महाकाली लोकमार्ग अन्तरगत गोकुले– खलंगा सडक खण्ड अन्तरगत विभिन्न स्थानमा पहिरो खस्दा सडक अबरुद्ध हुने भएपनि त्यसको प्रतिकार्यका लागि जिल्लामा पूर्व तयारी नहुदाँ सवारी सञ्चालनमा निकै समस्या हुने गरेको छ । गत वर्ष पनि गोकुले–खलंगा सडक खण्ड अन्तरगत विभिन्न स्थानमा पहिरो खस्दा महाकाली लोकमार्ग बेला बेला अबरुद्ध हुने गरेको थियो । यस्तै यो वर्ष पनि विभिन्न समयमा महाकाली लोकमार्ग पहिरोको कारण अबरुद्ध भएको छ ।
दार्चुलाका जिल्लामा रहेका विभिन्न स्थानीय तहले जेसिबी, स्क्याभेटर खरिद गरेका छन् तर मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा खसेको पहिरो पन्छ्याउन सडक डिभीजन पाटन बैतडीबाट डोजर ल्याउनु परेको थियो । महाकाली लोकमार्गमा ठूलो पहिरो खसेकाले बैतडीबाट डोजर ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिनुभयो । जिल्लामै ठुलो पहिरो पन्छ्याउने डोजर भएको भए बैतडी धाउनुुपर्ने थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here